जनकपुरमा एउटी महिलाले जन्माइन् एकैपटक चार बच्चा, आमाको अवस्था गम्भीर
Wednesday, September 2nd, 2020, 11:43 am
amit
जनकपुरधाम, १७ भदौ । जनकपुरमा एक महिलाले चम्ल्याहा(चारवटा बच्चा) बच्चा जन्माएकी छन्।
धनुषाको विदेह नगरपालिका ७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले जनकपुरधामस्थित काव्या अस्पतालमा मंगलबार साँझ चार शिशुलाई जन्म दिएकी हुन्।
प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत बच्चाहरू निकालेकी हुन्। उनले यसलाई दुर्लभु घटना बताएकी छन्।
अस्पतालका अनुसार अरमानाले शल्यक्रियामार्फत तीन छोरी र एक छोरालाई जन्म दिएकी छिन् भने शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको छ।
तीन बच्चाको स्वास्थ्य अवस्था सामान्य रहे पनि एक जनाको अवस्था भने अस्थिर देखिएको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले बताएका छन्।
मंगलबार जन्मिएका शिशुहरूको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नु पर्ने शल्यक्रियामा संलग्न एक चिकित्सकले बताएका छन्।
डाक्टर सिंहले दिएको जानकारी अनुसार चार बच्चालाई जन्म दिएकी अरमानाको अवस्था गम्भीर रहेको छ भने उनको फोक्सोमा पानी तथा रगत जमेर पलमन्ड्री एडिमा देखिएकोले डाक्टर अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशालामा पठाइएको छ।