कोरोना नियन्त्रणका लागि उपत्यकामा १५ दिन कफ्र्यू लगाउन उपत्यका नगरपालिका फोरमको माग
Wednesday, September 2nd, 2020, 1:55 pm
amit
काठमाडौ, १७ भदौ । उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउन १५ दिन कफ्र्यू आदेश जारी गनुपर्ने माग गरेको छ । फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कफ्र्यू आदेश जारी गर्न सुझाव दिएको मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताएका छन्।
नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाइ थप १५ दिन कफ्र्यू आदेश जारी गरे मात्रै कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सकिने श्रेष्ठले बताएका छन्।
उनका अनुसार १५ दिन सम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कफ्र्यु नै उत्तम विकल्प रहेको र संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुनेछ।
यस्तो कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको छ भने त्यसका लागि आफू बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले बताएका छन्।