क्यान्सर अस्पतालको भौतिक पुर्वाधार स्तरोन्नती गर्ने पुनको प्रतिवद्धता
Monday, February 23rd, 2026, 8:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ फागुन
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले पश्चिम नेपालको गौरव अस्पताल सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको स्तरोन्नती आफनो मुख्य एजेन्डामा रहेको बताउनु भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका पुनले बाँके क्षेत्र नम्बर ३ को जनताले गर्व गर्ने अस्पतालको रुपमा क्यान्सर अस्पतालको व्यवस्थापनमा आफुले पहल गर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो,‘आम नागरिकलाई स्वास्थ्य सेवामा पहुच विस्तार गर्दै क्यान्सर अस्पतालको स्तर बढाउन मैले विशेष योजना बनाएर काम गर्नेछु । क्यान्सर अस्पताल बाँके क्षेत्र नम्बर ३ को मात्र नभएर पश्चिम नेपालका हजारौ बिरामीलाई सेवा दिइरहेको अस्पताल हो । यसको समय सापेक्ष भौतिक पुर्वाधार र जनशंक्ति बृद्धि गर्न आवश्यक छ ।’ पुनले स्वास्थ्य क्षेत्रलाई आफ्नो मुख्य एजेन्डामा राखेर स्वास्थ्य क्षेत्रको सुदृढीकरणको लागि नीतिगत रुपमा काम गर्ने बताउनु भयो ।
उहाँले दक्ष चिकित्सक, नर्स तथा प्राविधिक जनशक्तिको अभाव स्वास्थ्य सेवाको प्रमुख चुनौती भएको बताउँदै विशेषज्ञ सेवा उपलब्ध गराउन विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।उम्मेदवार पुनले स्वास्थ्य क्षेत्रमा देखिने सुधार ल्याउन संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय गर्दै यस क्षेत्रको समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि काम गर्ने बताउनु भयो । शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा राज्यले आम जनतालाई सहज हुने सेवा सुविधा उपलब्ध गराउन आफु प्रतिवद्ध रहेको बताउनु भयो ।