रौतहटका गरुडा प्रहरी हिरासतमा भएको मृत्यु प्रकरणमा एसपी खड्काको जिम्मेवारी खोसियो
Thursday, September 3rd, 2020, 5:30 pm
amit
रौतहट, १८ भदौ । इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका अभियुक्तको मृत्युको कारण प्रहरीले दिएको यातना भन्ने अनुसन्धानमा खुलेपछि जिल्ला प्रहरी प्रमुख एसपीको जिम्मेवारी खोसिएको छ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी रविराज खड्कालाई प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको हो । उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहको काज सरुवा गरिएको छ।
गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीले यातना दिएको देखाएको थियो । त्यसपछि प्रदेश नं २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ।
निलम्बित तीनै जना प्रहरी जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत थिए । प्रकरणमा एसपी खड्काको कमाण्ड कमजोर देखिएकाले नेतृत्व परिवर्तन गरिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताएका छन्।
यसैगरी प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकरण सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालेको थियो र हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइसकिएको छ।
गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय महरालाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको छ।
१९ वर्षीय विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन्।