माघ १५ गतेबाट सेना र प्रहरीका अस्पतालमा सर्वसाधारणहरुले पनि उपचार सेवा पाउने
Tuesday, January 10th, 2017, 4:34 am
amit
काठमाडौं –आउँदो माघ १५ गतेबाट सेना र प्रहरीका अस्पतालहरुमा सर्वसाधारणहरुले पनि उपचार सेवा पाउने भएका छन् । ति अस्पतालहरुमा यसअघि सेना र प्रहरी तथा उनीहरुका परिवारका सदस्यहरुले मात्रै उपचार हुने गर्दथ्यो ।
स्वास्थ्य मन्त्रालयको पहलमा सेना र प्रहरीका अस्पतालहरुमा माघ १५ गतेदेखि सर्बसाधारणले पनि उपचार सेवा पाउने व्यवस्था मिलाइएको हो । दिउँसो १ बजेदेखि ४ बजेसम्म ओपिडी सेवा सञ्चालन हुनेछ र त्यहाँ सर्बसाधारणले उपचार गराउन पाउनेछन् ।
अस्पतालमा हालसम्म बहालवाला प्रहरी, सेना, निवृत्त प्रहरी, सेना तथा उनका परिवारहरुको मात्रै उपचार हुँदै आएको थियो ।
अब ती अस्पतालमा ओपिडी सेवा सुरु भएसँगै भविष्यमा अपरेशन लगायतका अन्य सेवाको लागि स्वास्थ्य मन्त्रालयले सेना तथा प्रहरीसित सहकार्य गर्दै जाने स्वास्थ्यमन्त्री गगन कुमार थापाका निजी सल्लाहकार प्रताप पौडेलले बताए ।
उनले भने, ‘नेपाल आर्मी र स्वास्थ्य मन्त्रालयबीच पटक-पटक भएको छलफल र सहकार्य पश्चात ती अस्पताल सर्वसाधारणका लागि खुला भएको छ’, सल्लाहकार पौडेलले भने, ‘अब त्यसलाई अझै व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालय कटिवद्ध छ ।’
अब राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायतका भीभीआईपीको उपचार पनि वीर अस्पताल बाहेक सैनिक तथा प्रहरी अस्पतालमा रहेको भीआईपी कक्षबाट हुने उनले बताए ।
उनका अनुसार स्वास्थ्य मन्त्रालयको नीति अनुसार विशिष्ठ व्यक्तिहरुको उपचारको व्यवस्था नेपालमै मिलाउन यो व्यवस्था गरिएको हो ।
यसको लागि ती अस्पतालहरुलाई भीआईपी कक्षको प्रभावकारी रुपमा व्यवस्थित गर्न तथा उपचारका लागि सहकार्य गर्ने सहमति भैसकेको छ ।
त्यसैगरी, सेनाको व्यारेक भएको स्थानमा सेनाको स्वास्थ्य टोलीले सरकारी अस्पतालहरुसित सहकार्य गरी सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने, सेनाको एयर एम्बुलेन्स र मोबाइल अस्पतालहरु स्वास्थ्य मन्त्रालयले पनि प्रयोग गर्ने, आपतकालीन अवस्थामा सेनासित सहकार्य गरी ‘अलर्ट समिति’ गठन गर्ने तयारी समेत भैरहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, मन्त्रालयले पनि सेनाको अस्पतालहरुलाई अन्य अस्पताल सरह नै अनुदान पाउने व्यवस्थाको लागि पहल गर्ने तथा सेनाका तर्फबाट पोष्ट ग्रेजुएट गर्न चाहनेका लागि छात्रवृत्ति लगायतका सहुलियत दिने सहमति गरेको छ ।