काठमाण्डौ उपत्यकामा अझै एक साता निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव
Wednesday, September 9th, 2020, 12:48 pm
amit
काठमाण्डौ, २४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने बताएको छ।
पछिल्लो तीन सातादेखि जारी निषेधाज्ञा आज राति १२ बजेदेखि सकिदै छ । एक साता निषेधाज्ञा लम्ब्याए कोरोना महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो।
मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठका अनुसार उपत्यकामा अहिले पनि कोरोना संक्रमणको जोखिम नघटेको हुनाले जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता दिनुपर्छ।
दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कफ्र्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने उनले बताएका छन्।
उनका अनुसर उपत्यकामा अहिले यी दुवै मापदण्ड नाघेको हुनाले तत्काल निषेधाज्ञा खोल्न नहुने हो तर यस सम्वन्धी निर्णय गृहमन्त्रालय अन्तरर्गतको स्थानीय प्रशासनले गर्नेछ।
मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) प्रमुख डा. गुणराज लोहनीले पनि जनस्वास्थ्यको हिसावले निषेधाज्ञालाई निरन्तरता दिनु पर्ने बताएका छन्।
डा. लोहनीका अनुसार अहिले पूर्ण रुपमा निषेधाज्ञा खोल्यो भने संक्रमण झन् बढ्दै जानुका साथै अस्पताल र चिकित्सकहरुलाई संक्रमित व्यवस्थापन गर्न गाह्रो पर्न सक्छ । त्यसैले पनि एक साता कडा रुपमा निषेधाज्ञा गर्नु नै उचित हुने उनले बताएका छन्।