चौथो कोहलपुर गोल्डकप २०८३ बैशाख १९ देखि सुरु हुँदै
Friday, March 27th, 2026, 7:58 pm
Kalpristha
निर्मल आचार्य
कोहलपुर, १३ चैत
कोहलपुर र पश्चिम नेपालको खेलकुद क्षेत्रमै प्रतिष्ठित पहिचान बनाउँदै आएको ‘कोहलपुर गोल्डकप’ को चौथो संस्करण २०८३ साल बैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ। कोहलपुर नगरपालिका–१३ स्थित तेह्र बिघा खेलमैदानमा आयोजना हुने यस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।
आयोजक समितिका संयोजक कर्ण बहादुर बस्नेतका अनुसार विगतका संस्करणहरूमा प्राप्त सफलतालाई अझ उचाइमा पुर्याउने लक्ष्यसहित यस वर्षको प्रतियोगिता थप व्यवस्थित, प्रतिस्पर्धात्मक र आकर्षक बनाइएको छ।
“कोहलपुर गोल्डकप केवल एउटा फुटबल प्रतियोगिता मात्र नभई, यस क्षेत्रको खेलकुद विकास र पहिचानसँग जोडिएको महत्वपूर्ण अभियान हो,” उनले बताए।
यस संस्करणमा देशका शीर्षस्तरीय ए डिभिजनका ३ क्लब, २ विदेशी टोली तथा मोफसलका २ टोलीसहित कुल ७ टिमको सहभागिता रहनेछ। यसले प्रतियोगितालाई अझ रोमाञ्चक बनाउनुका साथै स्थानीय तथा उदीयमान खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकको छ।
पुरस्कार राशितर्फ विजेता टोलीले नगद रु ८ लाख र उपविजेताले रु ४ लाख प्राप्त गर्नेछन्। आकर्षक पुरस्कारले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर अझ उकास्ने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास र पहिचानका लागि यो प्रतियोगिता कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको कार्यक्रमका प्रमुख अतिथि, कोहलपुर नगरपालिकाका उप प्रमुख संगीता पौडेलले बताइन् ।
खेलकुदसँगै पर्यटन प्रवर्द्धनलाई जोड्ने उद्देश्यले आयोजकले विशेष कार्यक्रमसमेत समावेश गरेको छ। प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराइनेछ। साथै, उनीहरूलाई स्थानीय होमस्टेमा बसोबास तथा मौलिक खानपानको अनुभव गराइने व्यवस्था गरिएको छ। यस पहलले खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
यस वर्ष प्रतियोगितालाई अझ व्यावसायिक र प्रभावकारी बनाउन व्यवस्थापन तथा मार्केटिङको जिम्मेवारी ईश्वरी युनाइटेड प्रालिलाई दिइएको छ। आयोजकका अनुसार यस सहकार्यले प्रतियोगिताको सञ्चालनलाई व्यवस्थित बनाउनुका साथै यसको पहुँच र प्रभावलाई अझ व्यापक बनाउनेछ।
विगतका तीन सफल संस्करणपछि कोहलपुर गोल्डकपले क्षेत्रीय स्तरबाट राष्ट्रिय स्तरसम्म आफ्नो सशक्त पहिचान स्थापित गरिसकेको छ। यसपटक खेलकुद र पर्यटनलाई एकीकृत गर्दै नयाँ आयाम थप्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
खेल तालिका, सहभागी टोलीहरूको विस्तृत विवरण तथा मुख्य प्रायोजकसम्बन्धी जानकारी भने आगामी दिनहरूमा क्रमशः सार्वजनिक गरिने बताइएको छ। आयोजकले यस महत्वपूर्ण खेल महोत्सवलाई सफल बनाउन सञ्चारकर्मी, खेलप्रेमी, स्थानीयवासी तथा सरोकारवाला सबै पक्षबाट सकारात्मक सहयोग र सक्रिय सहभागिताको अपेक्षा गरेको छ।