आयोजक योगिनी युवा क्लब ‘ए’ र राईजिङ सेमिफाइनलमा प्रवेश
Friday, April 10th, 2026, 9:40 am
Kalpristha
खजुरा, चैत २५ गते
आयोजक योगिनी युवा क्लब ‘ए’ र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छन् । बाँके खजुरा गाउँपालिका वडा नम्बर–२ स्थित योगिनी माविको खेल मैदानमा भएको खेलमा आयोजक योगिनी युवा क्लबले एक्टिभ युवा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

……..
निर्धारत समय गोलरहित बराबरीमा खेल सकिएको थियो । खेलमा आयोजक योगिनीका सुजित महत प्लेयर अफ द म्याचबाट पुरस्कृत हुुनु भयो । उहाँलाई समाजसेवी कर्ण बहादुर थापा र उर्मिला थापा मगरले पुरस्कृत गर्नु भयो ।
यसैगरी अर्को खेलमा राईजिङ स्टारले एक्स आर्मी लेजेन्ड टिमलाई ५–० ले पराजित गरेको थियो । राईजिङको तर्फबाट बसन्त पुन मगरले ४ गोल र मनिष सुनारले १ गोल गर्नु भयो । खेलमा सर्वाधिक गोल गर्ने बसन्त प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो ।
प्लेयर अफ द म्याच बसन्तलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् पुर्व मन्त्री अमर सिंह पुन, लुम्बिनी प्रदेश सभा सदस्य एवम् पुर्व मन्त्री बादशाह कुर्मी, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, स्थानीय समाजसेवी छबिलाल अर्यालले पुरस्कृत गर्नु भएको थियो ।
योगिनी युवा क्लबको आयोजनामा भैरहेको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको छ । चैतको २९ गते सम्म चल्ने प्रतियोगितामा मोडेल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्टस क्लब, मानवी स्पोर्टस क्लब, २७ स्टार क्लब, राईजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योती युवा क्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवा क्लबको सहभागिता रहेको आयोजक योगिनी युवा क्लबका अध्यक्ष कमल पुनले बताउनु भयो ।

…..
प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले २५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष पुनले बताउनु भयो । प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो सेमिफाइनल खेलमा योगिनी युवा क्लब ‘बी’ र बर्दियाको सितापुर युनाइटेडले प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा आयोजक योगिनी युवा क्लब ‘ए’ र राईजिङ स्टारले प्रतिस्पर्धा गर्नेछन् ।

……..