काठमाण्डौ उपत्यकामा विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने ५ कम्पनी कारबाहीमा
Saturday, September 12th, 2020, 12:22 pm
amit
काठमाण्डौ, २७ भदौ । काठमाण्डौ उपत्यकाका पाँच वटा उद्योगहरुले विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेको भेटिएको छ।
औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको हो।
मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुमा काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स र भक्तपुरको नेपाल कायाकल्प उद्योग रहेको विभागका अधिकारीहरुले जानकारी दिएको छ।
औषधि व्यवस्था विभागले यी उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स््ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न भनेको छ।
विभागले जारी गरेको सूचनाको अनुसार यी स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल समावेश भएको पाइएको छ जुन विषाक्त रसायन मेथानोलले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गर्दछ। स्यानिटाइजरमा इथानोल बाहेकका अन्य केमिकल प्रयोग गर्न नपाइने विभागले बताएको छ।
विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुलाई कारबाहीको प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।