कक्षा १२ मा ४० नम्बरका लागि अनलाइन परीक्षा लिने परीक्षा बोर्डको तयारी
Wednesday, September 16th, 2020, 5:45 pm
amit
काठमाण्डौ, ३१ भदौ । झन्डै ५ महिनाको राष्ट्रिय परीक्षा बोर्डको प्रयासपछि स्थगित कक्षा १२ को परीक्षा हुने भएको छ । परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ।
विषम स्थितिमा हुने यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाइ स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ।
मन्त्रालयका एक अधिकारीले बोर्डको सिफारिसअनुसार सरकारले चाँडै निर्णय गर्ने बताएका छन्।
अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्न सक्ने गरी सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरिसकेको छ।
बोर्डका कक्षा ११ र १२ तहका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार अन्य विकल्प सम्भव नभएमा यस विकल्पबारे सरकारबाट निर्णय भएपछि आवश्यक कार्यविधि र प्रश्नपत्र बनाई ४० नम्बरका लागि अनलाइन परीक्षाको तालिका प्रकाशन गरिनेछ।
परीक्षा केन्द्र, गार्ड र सुरक्षाकर्मी नहुने भएकाले यो एक प्रकारले खुला परीक्षा हुनेछ भने अनलाइनबाट परीक्षा हुँदा विद्यार्थीले आफू रहेको स्थानबाट निश्चित समयमा उत्तर तयार गर्नुपर्ने भए पनि पाठ्यसामग्री र स्रोतको उपयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछन्।
हालको स्थितिमा परीक्षा दशैँ अगाडि हुने सम्भावना कम रहेको नियन्त्रक शर्माले जनाएका छन्।
माध्यमिक तहको अन्तिम परीक्षा भएको र यसको अन्तर्राष्ट्रिय मान्यता पनि हुनुपर्ने भएकाले मिश्रित ढाँचाबाट भए पनि बोर्डले परीक्षा गराउने विकल्प सुझाएको हो।
मन्त्रालयले परीक्षाबारे सुझाव दिन मन्त्रालयका अधिकारी र बोर्डका पदाधिकारी रहेको अलग–अलग कार्यदल गठन गरेको थियो।