प्रथम नेपालगन्ज जिल्ला स्तरीय पुम्से तेक्वान्दो हुने
Sunday, May 3rd, 2026, 9:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० वैशाख
प्रथम नेपालगन्ज जिल्ला स्तरीय पुम्से तेक्वान्दो प्रतियोगिता–२०८३ हुने भएको छ । भृकुटी तेक्वान्दो दोजाङले आयोजना गर्न लागेको प्रतियोगिता वैशाख २६ गते नेपालगन्ज रंगशालामा हुनेछ ।
प्रतियोगिताले तेक्वान्दोमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको आयोजक भृकुटी तेक्वान्दो दोजाङ प्रमुख एवम् प्रतियोगिता संयोजक उमा थापा मगरले बताउनु भयो ।
प्रतियोगितामा बाँके जिल्लामा रहेका २० दोजाङका करिब १ सय ५० खेलाडीले सहभागिता जनाउने भृकुटी तेक्वान्दो दोजाङका सल्लाहाकार एवम् राष्ट्रिय खेलकुद परिषदका तेक्वान्दो प्रशिक्षक चन्द्र प्रकाश श्रेष्ठले बताउनु भयो । प्रतियोगितामा १४ वर्ष मुनिका महिला तथा पुरुष, १४ वर्ष माथिका महिला तथा पुरुष खेलाडीले सिंगल र पियर विधामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताले खेलको माध्यमबाट अनुशासनमा रहि आफनो देशको पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कायम राख्न सहयोग गर्ने तेक्वान्दो प्रशिक्षक श्रेष्ठले बताउनु भयो । करिब ५० हजार अनुमानित बजेट रहेको प्रतियोगिता आयोजनामा नेपालगन्ज उप–महानगरपालिकाले आर्थिक सहयोग गर्ने प्रशिक्षक श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनु भयो ।