गरुडा प्रहरी हिरासतमा विजयराम मृत्यु प्रकरण : एसपीसहित ६ जना प्रहरीमाथि अनुसन्धान सुरु
Thursday, September 17th, 2020, 3:23 pm
amit
रौतहट, १ असोज । गरुडा प्रहरी हिरासतमा १९ वर्षीय विजयरामको चरम यातनाबाट मृत्यु भएको प्रकरणमा एसपीसहित ६ प्रहरीमाथि अनुसन्धान सुरु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जिप्रकाका तत्कालीन प्रमुख एसपी रविराज खड्कासहित ६ प्रहरी विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको हो।
सुरुमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि दर्ता नभएपछि पीडित पनिलाल महराले जिल्ला सरकारी वकिलको कार्यालयमा जिल्ला प्रहरीका तत्कालीन प्रमुख एसपी रविराज खड्का, इप्रका गरुडाका तत्कालीन प्रमुख एवं डिएसपी ज्ञानकुमार महतो, इन्सपेक्टर नविनकुमार सिंह, सई विरेन्द्र यादव, प्रहरी हवलदारद्वय मुन्नुकुमार सिंह र हिरोज धुनियाविरुद्ध यातना र ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गराएका थिए।
सरकारी वकिलको कार्यालय गौरले जिल्ला प्रहरी कार्यालयको नाममा चलानी नम्वर ३४४ को पत्रसँगै किटानी जाहेरीसमेत पठाएर आवश्यक कारवाही गर्न भनेसँगै जिल्ला प्रहरी कार्यालय गौरमा भदौ २५ गते मुद्दा दर्ता भएको एसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन्।
एसपी शाहका अनुसार मुद्दा दर्ता भएपछि अनुसन्धान कार्य सुरु भएको छ भने अनुसन्धानमा आरोपित प्रहरीहरु दोषी देखिएमा अभियोजनपत्र साथ सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा गएपछि आरोपितहरुलाई निलम्बन गरी हिरासतमा लिनुपर्ने अवस्था आउनेछ।
प्रहरी हिरासतमा रहँदा यातना पाएर मृत्यु भएका विजयरामको काठमाडौं, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुँदा चोटपटकबाट ज्यान गएको पुष्टि भएको थियो । तर उनलाई यातना दिने प्रहरीलाई बचाउने षडयन्त्र भइरहेको दलित संघर्ष समितिका संयोजक सोनेलाल रामको आरोप छ।