घरबेटीले दुःख दिएको भन्दै डेरावाल समाजले गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझायो
Thursday, September 17th, 2020, 3:42 pm
amit
काठमाण्डौ, १ असोज । नेपाल डेरावाल समाजले घरबेटीहरुले डेरावालहरुलाई विभिन्न बहानामा दुःख दिने गरेको भन्दै गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ।
डेरावाल समाजका संयोजक भुवन थापाले दिएको जानकारी अनुसार कोरोना महामारीले सिर्जित डेरावालको समस्या समाधानको माग गर्दै समाजले बिहीबार स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयमा अनलाइनबाट नै ज्ञापनपत्रमार्फत ध्यानकर्षण गराएको हो।
कोरोना महामारीका कारण विगत ६ महिनादेखि पटकपटक कायम रहेको लकडाउन र निषेधाज्ञाका कारणले गर्दा धेरै श्रमिकको रोजीरोटी गुमेको तथा अधिकांश व्यवसाय बन्द हुँदा डेरामा बस्ने र व्यवसाय गर्नेलाई समयमा कोठा भाडा तिर्न नसक्ने समस्या भइरहेका बेला डेरावाललाई कुटपिट र हत्या गर्नेजस्ता जघन्य अपराध गरिएको जनाएको छ।
घरभाडा तिर्न नसकेको वा बाहिरी ठाउँबाट आएको भनेर भनेर कतिपय डेरावाललाइ घरबेटीले आफ्नो कोठामा डेरावाललाइ प्रवेश नदिएको सयौं गुनासो आइरहेको समाजले बताएको छ।
‘स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका संक्रमितलाइ घरमै आइसोलेसनमा बस्न र सरकारी अस्पतालमा भर्ना नगरिने भनिरहँदा कतिपय घरबेटीले डेरामा बस्नेलाइ कोरोना संक्रमित भए आफ्नो कोठामा पस्न नदिने वा कोठाबाट निस्किन दबाब दिने जस्ता अमानवीय हर्कत गरेको गुनासो समेत धेरै आउन थालेको जनाएको छ । ‘त्यसैले नेपाल डेरावाल उपभोक्ता मञ्चले कोरोना महामारीले सिर्जित डेरावालको समस्या समाधान गरिर्दिन २०७७–०६–०१ गते स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयमा अनलाइन मार्फत ज्ञापन पत्र बुझाएर ध्यानकर्षण गराएको छ’, ज्ञापनपत्रमा भनिएको छ ।
यसैगरी समाजले कोही डेरावाल र व्यवसायी कोठा भाडा तिर्न नसकेको कारणले आफ्नो कोठाबाट निस्किनु पर्ने अवस्था आए वा कोरोना संक्रमित डेरावाल आफ्नो कोठामा आइसोलेसनमा बस्ने अवस्था नभए नेपाल डेरावाल समाजमा खबर गर्न अनुरोध पनि गरेको छ।