तत्काल राहत उपलब्ध नगराए आन्दोलनमा जाने पर्यटन मजदुरको चेतावनी
Tuesday, September 22nd, 2020, 2:14 pm
amit
काठमाण्डौ, ६ असोज । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले तत्काल राहत उपलब्ध नगराए आन्दोलनमा जाने चेतावनी दिएका छन्।
पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी केही दिन भित्रमा पर्यटन मजदुरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
त्यस्तै लकडाउनका कारण लामो समयदेखि श्रम गर्न नपाउँदा भौकै मर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागेको तर अहिले सम्म सुनुवाई नभएकाले आन्दोलन गर्नुपर्ने स्थितिमा आफुहरु पुगेको संघर्ष समितिका संयोजक प्रकाश घायल राईले बताएका छन्।
उनका अनुसार तत्काल ‘मजदुर कल्याणकारी कोष’को रकमबाट आफुहरुलाई राहत दिनुपर्ने माग समेत गरिएको हो भने धेरैपटक पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग आफ्ना समस्या राख्दा समेत सुनुवाई भएन।
आफूहरुले ५ वर्ष यता मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगेको तर त्यही रकम मजदुरको हितमा खर्च गर्न समेत सरकारी निकायहरुले नमानेको उनले बताएका छन्।
आफैले जम्मा गरेको रकम ऋणको रुपमा समेत पाउन नसक्दा मजदुरहरु समस्यामा परेको राईले गुनासो गर्दै सरकारबाट लाइसेन्स प्राप्त २५ हजार मजदुरहरु अहिले समस्यामा परेकोले तत्काल राहत दिन माग गरेका छन् भने अबको केही दिन भित्रमा राहत पाउन नभए सबै मजदुर सडका उत्रने स्थिति आउने बताएका छन्।
विपद्को बेलामा भोक लाग्यो भन्दा सरकारी निकायबाट सुनुवाई हुँदैन भने आफुहरु बैचारिक र भौतिक रुपमा आन्दोलनमा उत्रने र त्यसबाट दुर्घटना भए जिम्मेवारी सरकारले लिनुपर्ने राईको भनाई छ।
गत वर्षको चैत महिना यता कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा पर्यटन क्षेत्र ठप्प छ । जसका कारण हजारौंको संख्यामा रहेका पर्यटन मजदुरहरुको रोजगारी गुमेको छ।