नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागद्वारा तीन कम्पनीविरूद्ध २५ करोड ५७ लाख बिगोको मुद्दा
Tuesday, September 22nd, 2020, 2:30 pm
amit
काठमाण्डौ, ६ असोज । राजश्व अनुसन्धान विभागले झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा काठमाडौं, भक्तपुर र बनेपाका तीन कम्पनीविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौं महानगरपालिका ३२ को बिग प्लान सप्लायर्सरबिग प्लान ब्याग उद्योग, भक्तपुरको एपी ट्रेड एन्ड सप्लायर्स र बनेपाको सम्मानित ट्रेड कन्सर्नलाई २५ करोड ५७ लाख ९७ हजार ६८ रुपैयाँ बिगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।
तीन वटै कम्पनीले ७ करोड ५५ लाख २५ हजार ५८४ मूल्य अभिवृद्धि कर र १८ करोड २ लाख ७१ हजार ४८४ रुपैयाँ आयकर छलेको अनुसन्धानबाट पत्ता लागेको छ। सबै कम्पनीलाई बिगोको दोब्बर जरिवाना र कैद सजाय समेत माग गरिएको छ।
आइतबार दायर गरिएको यो मुद्दाका मुख्य प्रतिवादी तीन वटै कम्पनीबाट राजश्व छली गर्ने रामप्रसाद चौलागाईं हुन् भने उनको कम्पनी बिग प्लान ब्याग उद्योग हो।
चौलागाईंले दर्ता गरेका ती कम्पनीका दुई प्रोप्राइटरलाई पनि प्रतिवादी बनाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताएका छन्।
बिग प्लानले वस्तु तथा सेवा खरिद नै नगरी झुठा तथा नक्कली मूल्य अभिवृद्धि र आयकर छलेको देखिएको छ। बिग प्लानले मूल्य अभिवृद्धि कर २ करोड ६ लाख ६ हजार ५२३, आयकर ४ करोड ९० लाख ८९ हजार ७१ हजार ५२० छलेको देखिएको छ।
यस्तै, मैनालीका अनुसार एपी ट्रेडले ३ करोड ७१ लाख ५१ हजार ४४१ मूल्य अभिवृद्धि कर, आयकर ८ करोड ९८ लाख ९४ हजार ८५६ र सम्मानित ट्रेडले मूल्य अभिवृद्धि कर १ करोड ७७ लाख ६७ हजार ६२० र आयकर ४ करोड १२ लाख ८७ हजार १८३ रुपैयाँ छलेको अनुसन्धानमा खुलेको हो।