केन्द्रीय कारागार सुन्धारका कोरोना संक्रमित कैदीको शंकास्पद मृत्यु, हत्या भएको परिवारको दावी
Tuesday, September 22nd, 2020, 3:07 pm
amit
काठमाण्डौ, ६ असोज । काठमाण्डौको सुन्धारास्थित केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका ६३ वर्षीय राम लखन जैसवालको शनिबार (३ असोज) मा उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो \।
तर, उनको उपचारका क्रममा मृत्यु भएतापनि परिवारले भने हत्या भएको दावी गरेको छ।
जेल प्रशासनका अनुसार उपचारको क्रममा जैसवालको स्वाभाविक मृत्यु भएको हो भने उनी दीर्घरोगी थिए र स्वास्थ्य समस्या भएपछि शनिवार राति पौने १० बजे अस्पताल पुर्याएको थियो तर भर्ना गरेको करिब २५ मिनेटमा उनको मृत्यु भएको हो।
यसैगरी राम लखनको मृत्युपछि परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएको हुनाले कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव जिम्मा लगाएको छैन।
कारागार प्रशासनले परिवारलाई ‘तपाईँको मान्छेको कारोनाको कारण ज्यान गएको’ भन्दै खबर गरेपछि परिवारका सदस्य काठमाडौं आएका थिए।
तर, परिवारले हत्या भएको दावी गर्दै छानविनको माग गरेका छन् । मृतककी छोरी रश्मिले घाँटी र टाउकोमा चोट लागेको हुनाले आफ्ना वुवाको स्वभाविक मृत्यु नभइ हत्या भएको र छानविन हुनुपर्ने बताएकी छिन्।
पूर्व जनप्रतिनिधि समेत रहेका जैसवाल कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि जेलमा थिए भने यही असोज २२ मा उनी जेलमुक्त हुँदै थिए।
कोरोना संक्रमण भएको भन्दै परिवारलाई शव हेर्न नदिएपछि मंगलबार छोरी रश्मि नर्सको परिचय दिएर शवगृहमा पुगिन् । मास्क लगाएर राखिएको रक्ताम्य शव देखेपछि उनले भिडियो खिचेकी छिन्।
शवको भिडियो बनाएको भन्दै प्रहरीले रश्मिलाई लाठीले प्रहार गरेको थियो र प्रहरीको लाठीबाट उनको हात भाँचिएको हुनाले अहिले वीर अस्पतालमै उनको हातको उपचार भइरहेको बताइएको छ।