भारततर्फ जान लागेको मोटरसाइकल चेकजाँच गर्दा आधा किलो सुन बरामद, १ जना पक्राउ
Friday, October 2nd, 2020, 3:55 pm
amit
कपिलबस्तु, १६ असोज । नेपालबाट भारततर्फ तस्करी भइरहेको अवस्थामा कपिलवस्तु प्रहरीले आधा किलो भन्दा बढी सुनसहित एक जनालाई पक्राउ गरेको छ।
नेपालबाट भारततर्फ सुन तस्करी भइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–७ बनकसियास्थित सडकमा चेकजाँच गर्दा सुन तस्करीमा संलग्न मायाँदेवी गाउँपालिका–४ का ३२ वर्षीय पवन गुप्तालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनको साथबाट २४ क्यारेटको सुन ४३ तोला (आधा किलो), १८ क्यारेटको सुनको सिक्रि १ तोला र १८ क्यारेटको सुनको औंठी ३ आना र ८ हजार ९ सय २८ रुपैयाँ नगद बरामद गरिएको हो।
गुप्ताको साथबाट बरामद भएको सुनको बजार मूल्य ४२ लाख ३ हजार ९६ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गुप्ताले चलाएको लु ५६ प ६३१० नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा उनले कम्मरमा बाँधेको निलो रङको थैलीमा लुकाइ छिपाइ सुन भारततर्फ लैजान लागेका थिए भने मोटरसाइकलको पछाडि १६ वर्षकी एक किशोरी समेत थिइन्।
किशोरीलाई पनि नियन्त्रणमा लिइएको भएतापनि सुन तस्करीमा ती किशोरीको संलग्नता रहेको देखिने प्रमाण फेला नपरेको प्रहरीले बताएको छ।