केन्द्रीय सदस्यहरुमा कोरोना पुष्ट भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित, केन्द्रीय समिति बैठक अनिश्चित
Sunday, October 4th, 2020, 11:10 am
amit
काठमाण्डौ, १८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएपछि पार्टीको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ।
गत बिहीबार दिइएको स्वाबको रिपोर्ट शनिबार आउँदा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक अनिश्चित बनेको हो।
कांग्रेसले केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी २ सय ५० जनाको स्वाब परीक्षण गर्न टेकुस्थित प्रयोगशालामा पठाएको थियो।
नेताहरुमा कोरोना भएसँगै फागुनमा तोकिएको १४ औं महाधिवेशन निर्धारित समयमै गर्न सकिन्छ कि कार्यतालिका हेरफेर गर्नुपर्छ भन्ने एजेन्डालगायतमा छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चित बनेको हो।
प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार आइतबार बिहान ९ बजेका लागि बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीको अनौपचारिक बैठक भने स्थगित गरिएको हो भने सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्ने कि नबस्ने अनिश्चित रहेको छ।