राजधानी सार्ने निर्णयविरुद्ध रुपन्देही बन्द, बुटवलमा निषेधाज्ञा तोड्दै प्रदर्शन
Sunday, October 4th, 2020, 11:22 am
amit
बुटवल, १८ असोज । नेपाली कांग्रेस रुपन्देहीले बुटवलबाट प्रदेश पाँचको राजधानी दाङ सार्ने प्रदेश सरकारको निर्णयको विरुद्धमा आह्वान गरेको रुपन्देही बन्दको प्रभाव बिहानैदेखि परेको छ।
बन्दका कारण रुपन्देहीमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने नेपाली कांग्रेस रुपन्देहीका संघसंस्थाहरुले अहिले बुटवलको राजमार्ग चौराहाबाट विरोध प्रदर्शन गर्ने बताएका छन्।
रुपन्देही प्रशासनले बुटवलमा आन्दोलन चर्किपछि बुटवलका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ।
जस्तोसुकै परिस्थित आए पनि बुटवलबाट राजधानी सार्ने निर्णयका विरुद्ध कांग्रेस सडकमा होमिएको नेपाल विद्यार्थी संघका उपसभापति मुक्ति पौडेलले बताएका छन्।
प्रदर्शन हुुने देखेपछि बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको छ । ठाउँ ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
निषेधाज्ञा तोड्दै प्रदर्शन
प्रदेश ५ को रााजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा बुटवलमा तनाव भएको छ । स्थानीय प्रशासनले गरेको निषेधाज्ञा तोड्दै आइतबार बिहानैदेखि बुटवलमा प्रदर्शन भएको हो।
कोरोना महामारीको समयमा राजधानीको नाममा बुटवलमा तनाव भएपछि जिल्ला प्रशासन रुपन्देहीले निषेधाज्ञा घोषणा गरेको छ । निषेधाज्ञा तोड्दै रुपन्देहीका उद्योगी व्यवसायी र संघसंस्थाले आइतबार बिहानैदेखि प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागीले ‘प्रदेश राजधानी बुटवलमा कायम गर’, ‘जनताको मत कदर गर’ भन्दै प्रदर्शन गरेका छन् भने व्यवसायीले लुम्बिनी क्षेत्रका सांसदविरुद्ध चर्को नाराबाजीसमेत गरेका छन्।
आन्दोलनमा सहभागीले मुख्यमन्त्री शंकर पोखरेलले आन्दोलनसँग डराएर निषेधाज्ञा गरेको भन्दै उनको चर्को आलोचना गरेका छन् । राजधानी बुटवल कायम नभएसम्म आन्दोलन नसकिने उनीहरुको भनाइ छ।
आन्दोलनको अगुवाइ बुटवल उद्योग वाणिज्य संघ, होटल व्यवसायी, उद्योग संघलगायतले गरेका छन्। आन्दोलनमा सहभागीले लुम्बिनी बन्दको घोषणा गर्दै सांसदलाई त्यहाँ प्रवेश नै नदिने बताएका छन् । राजधानी सार्ने प्रस्तावको विरोध गर्दै रुपन्देही कांग्रेसले रुपन्देही बन्दको आह्वान गरेको छ।