कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उपत्यकाका यातायात कार्यालयहरु बन्द
Monday, October 5th, 2020, 2:46 pm
amit
काठमाण्डौ, १९ असोज । कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उपत्यकाका २ वटा यातायात कार्यालय बन्द भएका छन्।
ठूलो भर्याङका कार्यालय प्रमुख राजकुमार कपालीले गत मंगलबार ३ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गर्नुपरेको जानकारी दिएका छन्।
त्यस्तै गत शुक्रवार यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, सानो भर्याङका कर्मचारीलाई संक्रमण देखिएपछि शुक्रबारदेखि सेवा बन्द भएको हो।
यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पनि एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको कार्यालय प्रमुख दिपक कुमार पोखरेलले जानकारी दिएका छन्।
उनका अनुसार कार्यालयमा कार्यरत एक जना कर्मचारीमा संक्रमण देखिएको भएतापति हालसम्म सावधानी अपनाएर काम भइरहेको छ भने केही समय कार्यालय बन्द गर्नका लागि सिसिएमसीसगँ कुरा राखिएको छ।
यातायात व्यवस्था कार्यालय भक्तपुरका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयले सबै सेवा बन्द गरेको छ । असोज १८ गतेबाट लागू हुने गरी हालका लागि सम्पूर्ण सेवाहरु स्थगित गरेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार प्रत्यक्ष जनसम्पर्कमा रही सेवा प्रदान गर्दै आएका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुरबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको हो।
सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको कार्यालयले जनाएको छ।