अनुगमन टोली पुगेपछि कालिमाटीका माछा व्यापारी सटर बन्द गरेर भागे
Monday, October 5th, 2020, 6:01 pm
amit
काठमाण्डौ, १९ असोज । कालिमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन्।
काठमाण्डौ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तानेर भागेका हुन्।
अनुगमन टोलीका अनुसार यसरी भागेकामध्ये अधिकांश पसलका व्यापारी माछाको गुणस्तरमा भन्दा खरिदबिक्री बिल देखाउन नसक्ने भएपछि भागेका हुन्।
महानगरको पशुसेवा विभागका पशुसेवा अधिकृत डम्मरबहादुर बमले दिएको जानकारी अनुसार अनुगमनका क्रममा हेरिएका पसलमध्ये धेरैमा दर्ता, नवीकरण र खरिदबिक्री बिलमा समस्या देखिएको छ।
यसरी भागेका व्यापारीलाई अनुगमन समितिमार्फत आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा बोलाइएको छ भने खरिदबिक्री बिल जारी नहुँदा माछा कहिले प्याकिङ गरिएको हो भन्ने कुरा थाहा नहुने पनि बताइएको छ।
अनुगमनका क्रममा रहेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाका अनुसार खरिदबिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु हो।
काठमाडौं माछा बजार समितिका अध्यक्ष वीरेन्द्रकुमार यादवले केही समय व्यापारीलाई सुध्रिने समय दिन आग्रह गर्दै आगामी दिनमा कानून नमान्ने व्यापारीलाई कारवाहीका लागि आफैबाट पनि सहयोग गर्ने बताएका छन्।
अनुगमनका क्रममा सप्तरी माछा पसलमा भेटिएको नौ किलो सडेको माछा जफत गरिएको छ।