नेपाली क्रिकेटर सन्दीप आवद्द टोली दिल्ली आईपीएलको शीर्ष स्थानमा
Tuesday, October 6th, 2020, 10:50 am
amit
२० असोज, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने आवद्द दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ ।
सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराउँदै दिल्लीले शीर्ष स्थान बनाएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिल्लीले दिएको १९७ रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो ।
बैंग्लोरका लागि विराट कोहलीले ४३ रन बनाउँदा वासिंग्टन सुन्दरले १७ रन जोडे । आरोन फिन्चले १३ रन बनाउँदा मोइन अली र भिवम दुवेले समान ११ रन बनाए । अरु खेलाडीले दोहोर अंक जोड्न सकेनन् ।
बैंग्लोरलाई सस्तै समेट्न कागिसो रबाडाले ४ विकेट लिए । एनरिच नोर्त्जे र अक्षर पटेलले समान २ विकेट लिँदा रवीचन्द्रन आश्विनले एक विकेट लिए ।
दिल्लीले सन्दीपलाइ भने बेन्चमै राखेकाे थियो ।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभर खेल्दा ४ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।
दिल्लीका लागि मार्कुस स्टोइनिसले अर्धशतकीय पारी खेले । उनले २६ बलमा २ छक्का र ६ चोकाको सहायतामा अजिवित ५३ रन बनाए ।
यस्तै पृथ्वी शले ४२ रन जाडे भने रिषव पन्तले ३७ रन जोडे । शिखर धवनले ३२ रन बनाउँदा कप्तान श्रेयस अय्यर र सिम्रोन हेटमेरले समान ११ रन जोडे ।
बलिङतर्फ बैंग्लोरका मोहम्मद सिराजले दुई विकेट लिँदा मोइन अली र उसुरु उदानाले समान एक–एक विकेट लिए ।
यससँगै दिल्ली ५ खेलबाट ८ अंक बनाउँदै शीर्ष स्थानमा उक्लियो । समान खेलबाट ६ अंक बटुलेको बैंग्लोर तेस्रो स्थानमा छ ।