कृषि विकास बैंक ह्याकिङ प्रकरणमा फरार भएका भारतीय व्यापारी पक्राउ
Tuesday, October 6th, 2020, 2:58 pm amit
कञ्चनपुर, २० असोज । कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार अभियुक्त भारत उत्तराखण्ड चम्पावत जिल्ला बनवासाका ५५ वर्षीय व्यापारी सुशील गर्गलाई नेपाल–भारत सीमा क्षेत्र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० स्थित गड्डाचौकीबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सुशील बनवासा मिना बजारमा चप्पलको व्यापार गर्छन् भने कृषि बैंकका देवी प्रसाद पोखरेलको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्।
गर्गले अनाधिकृत रुपमा विद्युतीय माध्यमको दुरुपयोग गरी कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको आरोप थियो।
त्यस्तै जिल्ला अदालत काठमाण्डौले बैंकिङ कसुर र संगठित अपराध मुद्दामा २०७६ असार ७ गते उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी गरेको थियो । सो घटनामा उनकै भतिजा अन्नु भनिने अनुज गर्ग भने अझै फरार रहेको प्रहरीले जनाएको छ।
कञ्चनपुर प्रहरीले पक्राउ परेका गर्गलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको जानकारी दिएको छ।