आईपीएल : विराटको टोली बैंग्लोरले धोनीको टिम चेन्नईलाई हरायो
Sunday, October 11th, 2020, 6:51 am
amit
२५ असोज, काठमाडौं । युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा साविकको उपविजेता चेन्नई सुपर किंग्स पराजित भएको छ । शनिबार राति भएको खेलमा चेन्नई रोयल च्यालेन्जर्स बैंग्लोरसँग ३७ रनले पराजित भएको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंग्लोरले दिएको १७० रनको लक्ष्यसहित ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि अम्बाती रायाडुले ४२ रन बनाए भने नारायण जागाडिसनले ३३ रन जोडे । शेन वाट्सनले १४ बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए ।
बैंग्लोरका क्रिस मोरिसले ३ विकेट लिए भने वासिंगटन सुन्दरले २ विकेट झारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।
बैंग्लोरका कप्तान विराट कोहलीले अविजित रहँदै ९० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै देवदत्त पाडिक्कलले ३३ रन जोड्दा शिवम डुबेले अविजित २२ रन जोडे ।
चेन्नईका शार्दुल ठाकुरले २ विकेट लिए भने साम करण र दीपक चाहरले समान १–१ विकेट लिए ।
जितसँगै बैंग्लोर ६ खेलबाट ८ अंक बनाउँदै तालिकाको चौंथो स्थानमा उक्लिएको छ । छैटौं स्थानको रहेको चेन्नईले भने ७ खेलबाट ४ अंक जोडेको छ ।