न्युजिल्यान्डको आम निर्वाचनमा प्रधानमन्त्री जासिन्डा अर्डेनको पार्टी विजयी
Saturday, October 17th, 2020, 6:19 pm
amit
एजेन्सी, १ कार्तिक । प्रधानमन्त्री जासिन्डा अर्डेनको सेन्ट्रल लेफ्ट लेबर पार्टीले न्युजिल्यान्डको आम निर्वाचन जितेको छ । विपक्षी पार्टीकी नेतृ जुडिथ कोलिन्सले झन्डै एक चौथाई मत गणना हुन बाँकी रहेकै अवस्थामा शनिबार पराजय स्वीकार्दै उनलाई बधाइ दिएकी छिन्।
अहिलेसम्म लेबर पार्टीले ४९ प्रतिशत मत ल्याएको छ भने निकटतम प्रतिस्पर्धी कोलिन्सको नेशनल पार्टीले २७ प्रतिशत मतमात्रै बटुलेको छ।
त्यसैगरी वर्तमान सरकारमा अर्डेनसँगै गठबन्धन गरिरहेको नेशनलस्ट न्युजिल्यान्ड फस्र्ट पार्टीले २ दशमलव ६ र ग्रिन पार्टीले ७ दशमलव ६ प्रतिशत मत ल्याएको छ।
कोभिड १९ को व्यवस्थापनमा अर्डेनले गरेका प्रयासलाई हेरेर यस निर्वाचनले नतिजा दिने आँकलन पहिल्यै गरिएको थियो । अहिलेसम्मको आँकलनअनुसार मतगणना समाप्त हुँदासम्म कुल १ सय २० सिटमध्ये अर्डेनको पार्टीले झन्डै ६४ सिट जित्ने आँकलन गरिएको छ।
यस्तो भएमा जासिन्डाले वर्तमान प्रणालीअन्तर्गत नै आफ्नो पार्टीको एकल सरकार बनाउन गर्न सक्नेछिन् भने बहुमत नआएको अवस्थामा उनले गठबन्धन सरकारलाई नै निरन्तरता दिनसक्नेछिन्।
विपक्षी नेशनल पार्टीकी नेतृ कोलिन्सले हार स्विकारेपछि आफ्नो अकल्यान्डस्थित घरबाट हात हल्लाउँदै अर्डेन निस्किएकी थिइन् । उनले जम्मा भएका समर्थकहरुलाई अंकमाल गरिन्।
त्यस्तै विपक्षी नेतृ कोलिन्सले टेलिभिजन सम्बोधनमा भनेकी छिन्, ‘प्रधानमन्त्री जाकिन्डा अर्डेनका लागि, जसलाई मैले फोन गरेर बधाई दिएँ किनकी मेरो बुझाइमा यो लेबोर पार्टीका लागि निकै राम्रो नतिजा हो।’