अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले लिए सपथ
Saturday, January 21st, 2017, 3:01 am
amit
अमेरिका- अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड जोन ट्रम्पले सपथ ग्रहण लिएका छन् । अमेरिकी कंग्रेस भवन क्यापिटोल हिलको पश्चिम क्षेत्रको अगाडिको भागमा आयोजित एक भव्य समारोहकाबीच ७० वर्षीय ट्रम्पलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टस जुनियरले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
दाहिने हात उठाएर, बायाँ हात बाईबालमा राख्दै सपथ लिने परम्परा अनुरुप ट्रम्पले श्रीमती तथा नयाँ प्रथम अमेरिकी महिला मेलानिया ट्रम्पको हातमा रहेको बाईबलमा हात राख्दै सपथ लिएका थिए । स्थापनादेखि नै अमेरिका धर्म निरपेक्ष मुलुक भए पनि बाईबल छोएर सपथ लिने परम्परालाई अमेरिकी राजनीतिमा धर्मको बलियो प्रभावको रुपमा वश्लिेषण गरिन्छ ।
गतवर्षको निर्वाचनमा अप्रत्यासित जित हासिल गरेका ट्रम्पले सपथ अघि राष्ट्रपतिहरुको चर्चको रुपमा परिचित सेन्ट जोन्स चर्चमा पुगेर प्रार्थना गरेका थिए ।
निवर्तमान राष्ट्रपति ओबामासँगै गाडीमा सवार हुँदै उनी ह्वाइट हाउसबाट सपथ ग्रहण स्थलमा पुगेका थिए ।
आप्रवासीप्रति कडा व्यवहार र अनुदार विदेश नीतिका कारण ट्रम्पलाई अमेरिकाभित्र र बाहिरसमेत संशयका साथ हेरिएको छ। उनले आफ्नो उद्घाटन मन्तव्यका क्रममा आगामी चार वर्षभित्र देशको उच्च आर्थिक विकास गर्ने बाचा गरेका छन्। सीमा क्षेत्रको नियन्त्रण र संसारभरि अमेरिकाको सम्मान पुनर्स्थापित गरेर महान राष्ट्रका रुपमा चिनाउने प्रतिबद्धता पनि उनले दोहोर्याएका छन्। ‘हामी अमेरिकी नागरिकहरू देश पुनर्निर्माण गर्ने राष्ट्रिय अभियानमा अहिले एकताबद्ध भएका छौं,’ उनले भने, ‘हाम्रो अहिलेको प्रयासले नै आगामी वर्षहरूमा अमेरिका र यो संसार कता जान्छ भन्ने बाटो निर्क्यौल गर्नेछ। यसमा हामीले पक्कै पनि थुप्रै चुनौतीहरू सामना गर्नुपर्छ। कठिनाइहरू आउनेछन्। तर, हामी आफ्नो अभियानमा अवश्य सफल हुनेछौं।’ आ
फ्नो सपथग्रहणलाई शान्तिपूर्ण शक्ति हस्तान्तरणका रूपमा मात्र नलिन आग्रह गर्दै उनले भने, ‘यो एउटा व्यक्तिबाट अर्को व्यक्तिमा शक्ति हस्तान्तरणको क्षण मात्र होइन, यो वासिङट्न डिसीबाट आमजनतामा शक्ति हस्तान्तरण भएको क्षण हो।’ ‘लामो समयदेखि राजधानीमा बस्ने सानो समूहले मात्र सरकारी सेवाहरूको लाभ उठाए, जबकि आमजनताले भने त्यसको मूल्य चुकाउनुपर्यो। वासिङ्टन फस्टायो, तर आमजनताले त्यसको लाभ पाएनन्। राजनीतिक नेताहरू समृद्ध भए, तर कारखानाहरू बन्द भए, जनता बेरोजगार भए।
हाम्रो देशको संस्थापन पक्षले आफ्नो त संरक्षण गर्यो, तर देशका नागरिकहरूलाई सुरक्षित तुल्याउन सकेन। उनीहरूको जित आमजनताको जित हुन सकेन,’ उनले भने। अहिलेसम्म चलिआएको यो प्रवृत्तिलाई आफ्नो कार्यकालमा बदलेरै छाड्ने दृढता व्यक्त गर्दै ट्रम्पले अमेरिकालाई संसारकै उत्कृष्ट राष्ट्रका रूपमा स्थापित गराउने बताए।