अब नेपालमै बीस मिनेटमै कोरोना परीक्षण !
Tuesday, December 1st, 2020, 12:15 pm
amit
काठमाडौँ, १६ मंसिर । सरकारले सोमबारबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।
काठमाडौंँ उपत्यकाका कोरोना प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । काठमाडाैं महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गरिने भएको छ ।
डा. पाण्डेका अनुसार काठमाडौंँ महानगरका कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ । उनले सोमबार पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएकोे र २०/२५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताए ।
एन्टिजेनमा पीसीआर जस्तै विधि भएको बताउँदै डा. पाण्डेले घाँटीबाट स्वाब सङ्कलन गरेर परीक्षण गरिन्छ भने ।
उनले समग्र जनसङ्ख्यामा भने एन्टिजेन परीक्षण नगर्ने बताए । सङ्क्रमितको सम्पर्कमा आउनेलाई स्थानीय तहको सहयोगमा एन्टिजेन परीक्षण गरिने भएको हो । डा. पाण्डेले तीन हजार पाँच सय जनसङ्ख्यामा एन्टिजेन परीक्षण गरेर त्यसको नतिजाका आधारमा थप परीक्षण गरिने जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार एन्टिजेन परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता हुन्छ ।