नेकपाको सचिवालय बैठक बस्दै
Tuesday, December 1st, 2020, 12:21 pm
amit
काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार दिउँसो १ बजे पुनः बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सूचना प्राप्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
शनिबार बसेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबारको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भएको जानकारी गराएका थिए । प्रधानमन्त्रीको कार्यव्यस्ततालाई ध्यान दिंदै बैठक बालुवाटारमै बस्ने तयभएको सचिवालयका एक सदस्यले जानकारी दिए ।
शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गरेको थियो । सो प्रस्ताव सचिवालयका सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो ।
आजको बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत प्रस्तावका विषयमा समेत छलफल सुरु हुने सचिवालयका सदस्यहरुको भनाई छ ।
दुई अध्यक्षको फरक फरक प्रस्ताव बैठकमा आएपछि बढेको विवादलाई सल्टाउन आवश्यक परामर्शपछि दुवै अध्यक्षको संयुक्त प्रस्तावका लागि सचिवालयका सदस्यहरुले आजदेखि सुझाव प्रस्तुत गर्नेछन् । अध्यक्षद्वयको प्रस्तावमाथि सचिवालयका सदस्यहरुले राय सहितको सुझाव राख्नु भएपछि सचिवालय बैठकले प्रस्तावबारे ठोस निर्णय गर्ने बताइएको छ ।