घोराही–तुलसीपुर फोरलेन सडक: २ वर्षमा ६ प्रतिशतमात्रै काम
Monday, June 21st, 2021, 9:44 am
Kalpristha
लिलाधर वली
दाङ, ७ असार
निर्माण व्यवसायीको लापरवाहीका कारण दाङको मुख्य घोराही-तुलसीपुर फोरलेन सडक विस्तारको काम ढिलाई भएको छ । जिल्लाको गौरवको सडकका रुपमा स्तरोन्नती हुन थालेको दुई वर्ष पूरा भैसक्दा पनि सडकको हालसम्म जम्मा ६ प्रतिशतमात्र काम भएको छ ।
समयमै फोरलेन सडक विस्तारको काम नहुँदा बर्षादको समयमा जोखिम बढेको छ । तीन वर्षमा फोनलेन सडक विस्तारको काम सक्नेगरी सम्झौता भएपनि दुई वर्षसम्म सडकको काम न्यून प्रगति देखिएको छ । दुई वर्षको अवधिमा घोराहीको कुइरेपानीदेखि तुलसीपुरसम्मको सडक विस्तारको कामको प्रगति ६ दशमलव ६ प्रतिशतमात्रै देखिएको नेपाल सरकार फोरलेन सडक स्तरोननती परियोजनाको कार्यालय लमहीले जनाएको छ ।
काम सुरु गरेको दुई वर्ष पूरा भैसक्दा सडकको प्रगति करिब ३० प्रतिशत हुनुपर्ने भएपनि हालसम्म ६ प्रतिशतमात्रै काम भएको फोरलेन सडक स्तरोनन्ती परियोजना कार्यालय लमहीका इन्जिनियर पारश हमालले जानकारी दिएका छन् ।
‘सडकको काम सुरुभएदेखि हालसम्म यो अवधिमा कम्तिमा ३० प्रतिशत सडकको प्रगति हुनुपर्ने थियो’, इन्जिनियर हमालले भने, ‘तर अहिलेसम्म हेर्दा प्रगति सन्तोषजनक छैन, जम्मा ६ दशमलव ६ प्रतिशतमात्र देखिन्छ ।’ उनले सडक विस्तारमा निर्माण कम्पनीले लापरबाही गरेको बताए । तर पछिल्लो समय कोरोना भाइरसका कारण निर्माणमा समस्या भएको निर्माण कम्पनीले बताउँदै आएको उनले बताए ।
सुरुका वर्षमा विद्युत् पोल सार्न ढिलाई भएको बाहना बनाएको कम्पनीले अर्को वर्षदेखि लकडाउनलाई बाहना बनाउन थालेको छ । हालसम्म निर्माण कम्पनीले परियोजनाबाट १० करोड मोविलाइजेशन खर्चस्वरुप रकम लिएपनि कार्यप्रगति सन्तोषजनक नभएकाले कारबाही गर्ने तयारी गरेको समेत कार्यालयले जनाएको छ ।
भारत सरकारको सहयोगमा सम्पन्न हुने सो सडक स्तरोन्नतिको जिम्मा भारतको मुम्वैस्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्टर प्रालीले पाएको छ । तर उसले नेपालकै पेटी ठेकेदारलाई काम सुम्पिएको छ । कम्पनीले परियोजनामा पत्र पठाएर विद्युत्का पोल सार्न ढिलाई भएको जनाएपछि पहिलोपटक ६ महिनाको म्याद थपिएको थियो । त्यसपछि कोरोना भाइरसका कारण भएको लकडाउनको बाहनामा फेरि तीन महिना म्याद थप भएको छ । तर, निर्माण कम्पनीले भने विगत एक वर्षदेखि साइटमा काम नै गरेको छैन । काम ठप्प पारेको छ । आधिकारिकरुपमा तथ्य इञ्जिनियरिङ देखिएपनि तुलसीपुरका प्रतिनिधि जनक डाँगी र अनुप पाण्डेले सडक विस्तारको काम गराउँदै आएका छन् ।
तर अघिल्लो वर्ष नै डाँगी तथ्य इन्जिनियरिङको प्रतिनिधिबाट बाहिरी सकेका छन् । त्यसपछि अनुप पाण्डेमार्फत काम भइरहेको परियोजनाका प्रमुख इञ्जिनियर हमालले जानकारी दिए । घोराहीको कुइरेपानीदेखि कटुवाखोलासम्म, डिके पेट्रोलपम्पदेखि गुर्जेखोला पुलसम्म, नारायणपुरदेखि खैरासम्म, दुधरासदेखि हात्तिखौवासम्म फोरलेन सडक स्तरोन्नतिका लागि एक करोड २१ लाख ८२ हजार भारतिय रुपैयाँमा ठेक्का सम्झौता भएको कार्यालयले जनाएको छ । जसको नेपाली करिब एक करोड ९४ लाख ९१ हजार दुई सय रुपैयाँ हुन आउँछ । सम्झौता भएको ३० महिनामा काम सक्ने सुरुको सम्झौता भएको थियो । सडक विस्तारको काम २०७५ साल पुस १३ गतेदेखि सुरु भएको थियो ।
तथ्य इन्जिनियरिङ कम्पनीलाई पटक-पटक पत्राचार गरेपछि पछिल्लो समयमा उस्ले भारतको एक्जिम बैंकमा प्रतिवद्धतासहितको पत्र पठाएर लकडाउन सकिएलगत्तै तदारुकताका साथ काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकाले ठेक्का रद्दको काम रोकिएको जानकारहरु बताउँछन् ।