व्यवसायिक खेती गर्नु पर्नेमा जोड
Thursday, July 1st, 2021, 10:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ असार
कुनै पनि कुरामा लगानी र एक व्यक्ति एक उत्पादनलाई प्राथमिकता दिएर अघि बढे व्यवसायिक खेतीमा वृद्धि हुने राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताएका छन् । गाउँपालिकामा आयोजित खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत व्यवसायिक अन्तक्रियाया गोष्ठीमा सहभागी किसानलाई सो कुरा बताउँदै अध्यक्ष थारुले व्यवसायिक खेती गर्नु पर्नेमा जोड दिएका हुन् ।
गाउँपालिकामा रहेका किसानलाई दुई करोड रुपैयाँ भन्दा बढीको कृषि सामाग्री प्रदान गरिएको थियो । खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानहरुलाई दुई करोड ११ हजार सात सय ५० रुपैयाँ मूल्यको विभिन्न कृषि सामग्री प्रदान गरिएकोमा उक्त कृषि सामग्रीको मर्मत सम्भार गर्नुका साथै किसानलाई प्रविधिमैत्री कृषि गर्न सक्ने बनाउने किसिमको योजना पालिकामा अवस्थित साकार कृषि सहकारी संस्था लिमिटेडलगायतका सहकारीलाई ल्याउन आग्रह गरे । किसानलाई आधुनिक खेती गर्न सक्ने दक्ष बनाउने खाले योजना आए गाउँपालिका हरसम्भव सहयोग गर्न तत्पर रहेको बताए ।
५० प्रतिशत अनुदानमा राप्तीसोनारी गाउँपालिका-६ मा रहेको साकार कृषि सहकारी संस्था लिमिटेडबाट उक्त कृषि सामग्री किसानलाई वितरण गरिएको थियो ।
गोष्ठीमा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले परम्परागत खेती किसानीबाट माथि उठेर आधुनिक प्रविधिको प्रयोग गरेर अर्गानिक खेतीतर्फ किसानले ध्यान दिनु पर्नेमा जोड दिइन् । उपाध्यक्ष खत्रीले व्यवसायिक खेतीका लागि आवश्यक चिस्यान केन्द्र र ९ वटै वडामा कृषि हाट बजार हुनु पर्नेमा समेत जोड दिइन् ।
कुनै पनि सामग्रीको प्रयोग सही तरिकाले गरिएन भने त्यसले प्रतिफल नदिने बताउँदै वडा नम्बर ९ का वडाअध्यक्ष महावीर ओलीले व्यवसायिक किसानलाई पहिचान गरेर वास्तविक किसानले गाउँपालिकाद्वारा अनुदानमा प्राप्त सामग्री पाउनु पर्ने बताए ।
कृषि पेसालाई अब आधुनिकीकरण गर्नुको विकल्प हामीसँग नरहेको बताउँदै वडा नम्बर ८ का वडा अध्यक्ष खुमबहादुर बस्नेतले अब खानको लागि मात्र नभएर आयआर्जनको लागि खेती गर्नु पर्ने बताए । नयाँ नयाँ प्रविधिको प्रयोगसँगसँग किसानको दक्षता पनि बढाउनु पर्नेमा जोड दिँदै वडा अध्यक्ष बस्नेतले आधुनिक कृति यन्त्रको प्रयोग गरेर व्यवसायिक रुपमा खाद्यान्न तथा तरकारी खेती गर्नु पर्नेमा जोड दिए ।
त्यस्तै वडा नम्बर १ का वडा अध्यक्ष चन्द्रबहादुर ओलीले विगतमा वन्यजन्तुले किसानको खेतीपातीलाई नष्ट गरिदिने भए पनि अहिले जनप्रतिनिधि आइसकेपछि त्यो समस्या निराकरण भएको बताए । उनले जंगली जनावरबाट किसानको खेतबालीलाई जोगाउन तारजाली लगाउनेदेखि लिएर खाद्यान्न तथा तरकारी प्रवर्द्धनका लागि खेतीबारीमा सिँचाइको पनि व्यवस्था गाउँपालिकाले गरेको बताए ।
साकार कृषि सहकारी संस्था लिका लेखापाल भरत केसीले संचालन गरेको कार्यक्रम माथि संस्थाका मुख्य व्यवस्थापक जमानसिंह ओलीले प्रकाश पारेका थिए ।