आधा असारमै ३२ जनाले ज्यान गुमाए
Friday, July 2nd, 2021, 10:53 am
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, १८ असार
असारको आधा महिनामै देशभर बाढी र पहिरोमा परी ३२ जनाले ज्यान गुमाएका छन् । जेठ ३१ गतेदेखि असार १७ गतेसम्मको अवधिमा २७ जना घाइते समेत भएका छन् भने २९ जनाको अवस्था अज्ञात छ ।
विगत १९ दिनमा एक सय ६१ परिवार प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । २०७७ सालमा यही अवधिमा बाढी र पहिरोबाट २३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । यो अवधिमा ३० जिल्लाका ६७ परिवार प्रभावित भएका थिए भने ७५ लाख २७ हजार बराबरको भौतिक क्षति भएको थियो ।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार यस वर्ष मनसुनको सुरुआती चरणमै गत वर्षको भन्दा बढी जनधनको क्षति भएको छ । केन्द्रका अनुसार सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । डोटीमा चार जना र रोल्पामा तीन जनाको मृत्यु भएको छ । यस्तै रौतहट, चितवन र तनहुँमा २–२ जनाको मृत्यु भएको छ ।
पाँचथर, सप्तरी, सिन्धुली, काभ्रे, गोरखा, कास्की, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, जुम्ला, कालीकोट, बाजुरा र बझाङ गरि १४ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ ।
मनसुन जेठ २८ गते नेपाल भित्रिएको थियो । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन अवधिमा २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुने आँकलन गरेको छ ।