हस्ताक्षर फिर्ताको निणर्य नेपालद्धारा अस्वीकार, फिर्ता नभए पार्टी फुट्ने ओलीको चेतावनी
Saturday, July 3rd, 2021, 4:03 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, १९ असार
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा ओलीले गरेको हस्ताक्षर फिर्ताको आग्रह नेपालले ठाडै अस्वीकार गरेका छन् । नेपालले केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका छन् । शुक्रबार केन्द्रीय कमिटीको बैठकबाट सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका ओलीले शनिबार दिउँसो ३ बजे अर्को बैठक बोलाएका थिए । त्यसअघि दुई नेताबीच टेलिफोन वार्ता भएको थियो ।
प्रतिनिधिसभा विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । जसमा माधव नेपाल समूहका २३ जना पनि छन् ।
सर्वोच्चमा यो मुद्दाको बहस अन्तिमतिर पुगेको छ । तर सर्वोच्चको फैसला आउनुअघि अध्यक्ष ओलीले बैठक राखेर हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन् । सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए पार्टी फुटको घोषणा मानिने ओलीको चेतावनी छ । शनिबार नेता नेपालसँग भएको टेलिफोन सम्वादका क्रममा पनि उनले हस्ताक्षर फिर्ता लिन जोड दिएका छन् ।
तर वरिष्ठ नेता नेपालले भने हस्ताक्षर फिर्ताको प्रस्ताव एकोहोरो भएको प्रतिक्रिया दिएका छन् । उनले पार्टीको एकता टुंग्याउन २ जेठ २०७८ मा गठित कार्यदल सक्रिय बनाउनुपर्ने प्रस्ताव राखेका छन् । अध्यक्ष ओली २ जेठ २०७५ को पार्टी संरचनामा फर्किन तयार भएपछि २ जेठमा दुबै पक्षका ५/५ नेता रहेको कार्यदल गठन भएको थियो । तर कार्यदलले काम थाल्दा नथाल्दै प्रतिनिधिसभा भंगको प्रक्रिया सुरु भएपछि एकता वार्ता विथोलियो भने माधवकुमार नेपाल समूह विपक्षी गठबन्धनतिर लाग्यो भने एमाले अध्यक्ष ओलीले १२ जेठमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलसहित ११ नेतालाई पार्टीबाटै निष्कासन गरे । त्यससता कार्यदल निष्क्रिय छ । तर कार्यदलमा नेताहरु निरन्तर अनौपचारिक सम्वादमा छन् । उनीहरुका अनुसार सर्वोच्चको मुद्दाबाहेक अरु विषयमा लगभग सहमति जुटेको छ ।