कोरोना असरः दाङमा दुई वर्षदेखि खेलकुद गतिविधि शून्य
Saturday, July 3rd, 2021, 1:28 pm
Kalpristha
लिलाधर ओली
दाङ, १८ असार
सिन्थेटिक ट्रर्याकसहितको खेलमैदान निर्माणले अन्तिम स्वरुप लिइरहंदा विसं २०७५ सालको चैत महिनाको धुपमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहँदा बेलझुण्डी रंगशालामा खेलप्रेमीहरुका आँंखा टक्क अडिन्थे, खेलप्रतिको आशा तरंगित हुन्थ्यो । आधुनिक रंगशालाले खेलप्रेमीमा उत्साह थपिदिएको थियो ।
बेलझुण्डी रंगशालामा अहिलेसम्म एथ्लेटिक्स तथा महिला फुटबल प्रतियोगिता भैसकेका छन । त्यस लगत्तै फेरी बेलझुण्डी रंगशालामा विद्यालय तहको प्रदेशस्तरीय क्वीक्स फुटबल प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न भयो । त्यो बेला दाङका खेलाडीहरुमा देखिएको खेलप्रतिको उत्साह अहिले भने सेलाउन थालेको छ । सिंगै खेलजगत अहिले थलापरेको अनुभुति खेलाडीहरुमा हुन थालेको छ । खेलमैदानमा बरमुण्डा झांगिएको छ, सेन्थेटिक ट्रर्याकमा पानी जम्न थालेको छ , खेलाडीहरुको खेलप्रतिको उत्साह भने सुस्ताएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट खेलकुद क्षेत्र पनि अछुतो रहन सकेको छैन । पहिलो चरणको कोरोना भाइरसको संक्रमण कम भएसँगै चलायमान हुन थालेको खेलकुद क्षेत्र दोश्रो चरणको लकडाउनका कारण पूणर्रुपमै सुनसान बन्न पुग्यो । त्यसको तल्लो तहमा अझ धेरै देखिएको छ । केन्द्रमा राष्ट्रियस्तरका केही प्रतियोगिताहरु भएपनि जिल्ला तहहरुमा खेलकुदका राम्रा प्रतियोगिताहरु हुन सकिरहेका छैनन् । जसको एउटा उदाहरण हो, दाङमा बेलझुण्डीमा रहेको फुटबल रंगशाला । दुई वर्षअघि राष्टियस्तरका प्रतियोगिताहरु दाङमै गर्न सकिने गरी रंगशाला निर्माण भएपनि उक्त रंगशालाले दुई वर्षदेखि खेलाडी समेत पाउन सकेको छैन । लाखौँ रुपैया खर्च गरेको रंगशाला खेल विहीन जस्तै बन्न पुगेको छ । फुटबलसँगै एथलेटिकलगायतका खेलहरु सञ्चालन गर्न सकिने गरी दुईवर्ष पहिले रंगशाला निर्माण भएको थियो । २०७६ को चैतयता जिल्ला तहमा कुनै गतिविधि हुन सकेनन् । साना प्रतियोगिताहरु घोराही, तुलसीपुरलगायतका ठाउँमा भएपनि ठूला प्रतियोगिताहरु नहुँदा रंगशालाले दुई वर्षदेखि खेलाडी पाउन नसकेको खेलाडीहरु बताउँछन् ।
फुटबलमात्रै होइन अन्य खेलहरुको अवस्था समेत त्यस्तै छ । कोरोना भाइरसको महामारीका कारण करिव एक वर्षदेखि गतिलो प्रतियोगिता गर्न नसकिएको दाङ आईटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष भीमबहादुर थापाले बताए । आईटीएफ तेक्वान्दो खासगरी आत्मसुरक्षाका लागि खेलिने इन्डोर गेम भएपनि पछिल्लो समय जिल्लामा गति लिँदै गरेको थियो । तर कोरोना भाइरसका कारण अप्ठेरोमा परेको अध्यक्ष थापाले बताए । कोरोना भाइरसको संक्रमण दर कम भएसँगै खेलाडीहरु व्यत्तिगत रुपमा खेल्न तयार भएपनि तत्काल प्रतियोगिता गर्ने सोच नभएको समेत उनले बताए । ‘खेलकुद क्षेत्रसँग जोडिएको क्षेत्र आर्थिक हो । तर कोरोना भाइरसका कारण आर्थिक क्षेत्र सुनसान छ,’ अध्यक्ष थापाले भने, ‘खेलकुद प्रतियोगिता गर्नका लागि अर्थसँग जोडिन्छ । तर अहिले कसैसँग सहयोग माग्न सक्ने अवस्था समेत छैन ।’ राम्रो अवस्था आए केही महिनापछि जिल्लामा प्रतियोगिता गर्न सकिने समेत बताए ।
त्यसैगरी क्रिकेट, भलिबल, हाप्किडो, तेक्वान्दो, एथ्लेटिक, बास्केटबल, टेबलटेनिसलगायतका प्रतियोगिताहरु समेत हुन सकिरहेका छैनन् । समग्र रुपमा खेलकुद क्षेत्र सुनसान अवस्थामा पुग्नु भनेको कोरोना भाइरसको मुख्य असर रहेको जिल्ला खेलुकद विकास समिति दाङका पूर्व कोषाध्यक्ष कैलाश रोकामगर बताउँछन् । ‘दाङ पछिल्लो समय खेलकुद क्षेत्रमा सम्भावना बोकेको क्षेत्रका रुपमा रहेको छ । त्यही अनुसार फुटवल, क्रिकेटलगायतका खेलकुदका संरचनाहरु समेत तयार भैरहेका छन्,’ पूर्व क्रिकेट खेलाडी समेत रहेका रोकाले भने, ‘तर पछिल्लो समय दुई चरणमा देखिएको कोरोना भाइरसका कारण खेलकुदका राम्रा प्रतियोगिताहरु हुन सकिनन् ।’ त्यसैगरी उनले खेलकुदलाई स्थानीय सरकारहरुले प्राथमिकतामा नराख्दा पनि जिल्लाको खेलुकद क्षेत्रको विकास हुन नसकेको बताएका छन् ।
देशकै अन्य क्षेत्रहरुमा स्थानीय तहहरुले राष्ट्रियस्तरसम्मका प्रतियोगिताहरु गर्ने गरेपनि दाङमा कुनै पनि स्थानीय तहले जिल्लास्तरीय प्रतियोगिताको समेत आयोजना गर्न नसक्नु पनि खेलकुद क्षेत्रको विकास नहुनु मध्येको एउटा कारण रहेको खेलाडीहरुले बताउने गरेका छन् ।