सुजिताको हत्या भएको भन्दै स्थानीयद्धारा राजमार्ग अवरुद्ध
Monday, July 5th, 2021, 1:42 pm
Kalpristha
कालपृष्ठ डेस्क
चितवन, २१ असार
९ दिनदेखि बेपत्ता सुजिता भण्डारीको हत्या भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । चितवनको भण्डारास्थित महेन्द्र राजमार्ग अवरुद्ध गरेका उनीहरुले तत्काल दोषी पत्ता लगाई कारबाही गर्न उनीहरूले माग गरेका छन् ।
पूर्वी चितवनको भण्डारास्थित धमिले जंगलमा आइतबार साँझ राप्ती नगरपालिका-३ प्रगतिचोककी २२ वर्षीया सुजिता भण्डारीको शव भेटिएको थियो । वडा नम्बर ३ का अध्यक्ष राजकुमार उप्रेतीका अनुसार शव पुरानो भइसकेकाले पहिचान गर्न नसकिने अवस्थाको थियो । भण्डारी असार ११ गतेदेखि हराइरहेकी थिइन् । लगाएको कपडा र दाँत हेरेपछि शव सुजिताकै भएको आफन्तहरूले पहिचान गरेका थिए । आफन्तका अनुसार बेपत्ता हुनुअघि सुजिताले आत्तिँदै परिवार सदस्यलाई सम्पर्क गरेकी थिइन् ।
उनको घरदेखि झन्डै एक किलोमिटर नजिकै मार्तल खोला चोकभन्दा उत्तरतिरको जंगलमा शव भेटिएको हो । चितवन प्रहरीका एसपी ओम अधिकारीले शवनजिकै झोला भेटिएको र त्यसकै आधारमा उक्त शव सुजिताकै रहेको भनी दिदीले पहिचान गरेको बताए । अधिकारीका अनुसार दिदीले उक्त झोला आफूले पसलबाट सामान किन्दा ल्याएको बताएकी छन् । घटनास्थल नजिक धानमा हाल्ने विषादीको बट्टासमेत भेटिएको प्रहरीले जनाएको छ ।