बाँकेमा बन्देज ३१ गतेसम्म थप, जोर बिजोर नियम हटाइयो
Monday, July 5th, 2021, 2:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ असार
बाँकेमा जारी कोरोना नियन्त्रणका लागि गरिएको बन्देज अवधि असार ३१ गतेसम्म लम्बिएको छ । यसअघि असार १४ गते जिल्लाभित्र सन्चालन हुने सार्वजनिक तथा निजी सवारी सन्चालनमा लगाइएको जोरबिजोरको नियम हटाइएको छ भने दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामाग्री खरिद बिक्रीका पसल बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म मात्रै पसल खोल्न पाइन्थ्यो ।
लामो दुरीका सवारीसाधन, सबै शैक्षिक संस्था, मनोरन्जन स्थल तथा पार्क, खेलकुद गतिविधि, धार्मिक तथा साँस्कृतिक गतिविधिमा बन्देज भने जारी राखिएको छ ।
जिल्ला प्रशासनले आदेश जारी गर्दै भाइरस संक्रमणको जोखिम कायमै रहेकोले असार ३१ गतेसम्म बन्देज थप गरिएको जनाएको हो । भिडभाड नहुनेगरी सेवा प्रवाह व्यवस्थित गरेर सार्वजनिक निकाय, बैंक तथा वित्तिय संस्थाहरु खोल्न मिल्ने आदेश यसअघि नै जारी भइसकेको छ । बाँकेमा वैशाख १३ गतेदेखि निषेधाज्ञा भएको थियो । त्यस यता हरेक हप्तामा अवधि थपिँदै आएको छ । प्रशासनले पछिल्ला केही हप्ता यता क्रमशः निशेधाज्ञालाई खुकुलो बनाउँदै आएको छ ।