लुम्बिनीको स्थायी राजधानीमा पहिलो मन्त्रालय स्थापना
Wednesday, July 7th, 2021, 7:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, २३ असार
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उत्पयकाबाट ग्रामीण तथा सहरी विकास मन्त्रालयले काम शुभाराम्भ गरेको छ । प्रदेशको स्थायी राजधानी स्थापना भएको झण्डै १० महिनापछि स्थायी मुकामबाट पहिलो पटक ग्रामीण तथा सहरी विकास मन्त्रालयले काम शुभाराम्भ गरेको हो । मन्त्रालयले तत्कालका लागि देउखुरीको लामटियामा रहेको राप्ती प्रादेशिक शिक्षालयको भवनबाट काम थालेको छ ।
प्रदेश सरकार स्थापनाको २ वर्ष ८ महिना २ दिनपछि गत असोज २१ मा लुम्बिनी प्रदेशको स्थायी मुकाम दाङको देउखुरी र अर्घाखाँची जिल्लाको केही भागलाई समेटर घोषणा गरिएको थियो । स्थायी मुकामबाट काम शुभाराम्भ गर्नेमा पहिलो मन्त्रालय ग्रामीण तथा सहरी विकास मन्त्रालय बनेको हो ।
बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भुर्चअल माध्यमबाट मन्त्रालयको शुभारम्भ भएको घोषणा गरेका हुन् । शुभाराम्भ गर्दै मुख्यमन्त्री पोखरेलले राजधानी कार्यान्वनको लागि महत्वपूणर् क्षण भएको वताए । ‘यो महत्वपुणर् क्षण हो । यसले राजधानी कार्यान्वनमा अव विशेष भूमिका खेल्ने छ’-मुख्यमन्त्री पोखरेलले भने, ‘पहिलो पटक मन्त्रालय देउखुरीमा सरेको छ, अब विस्तारै अन्य मन्त्रालयहरु समेत सर्ने क्रम बढ्नेछ ।’ उनले अब क्रमशः अन्य मन्त्रालयले पनि स्थायी राजधानीबाट काम थाल्ने भन्दै त्यसका लागि पूर्वाधार निर्माणको काम समेत अघि बढ्ने बताए । ‘स्थायी राजधानीको लागि अब पूर्वाधारको काम हुन्छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘आउदो वर्षदेखि प्रदेशसभाको अधिवेशनपनि स्थायी मुकामै हुन्छ ।’
आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले यो ऐतिहासिक क्षण भएको भन्दै अब अन्य मन्त्रालयले पनि स्थायी मुकामबाट काम थाल्ने वताए । मन्त्री चौधरीले लुम्बिनी प्रदेश सबै दुष्टिकोणले अन्य प्रदेशभन्दा अब्बल भएको समेत वताए । ‘राजधानी कार्यान्वयनको लागि नयाँ संरचना निर्माणको काम भैराखेको छ । प्रदेशसभाको भवन पनि बन्दै छ,’ मन्त्री चौधरीले भने, ‘छिटटै काम सकेर सवै मन्त्रालय अव स्थायी मुकाममा आउने छन् ।’
ग्रामीण तथा सहरी विकास मन्त्री हरि रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । मन्त्रालयले खानेपानी तथा स्वच्छता, भवन र पर्यटनको क्षेत्रको विकासमा काम गर्ने छ । मन्त्रालय अन्तर्गत ३ वटा महाशाखा रहने छन् । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले लुम्बिनी प्रदेशको स्थायी राजधानीमै मन्त्रालयले काम थालेपछि जनताको घरदैलोमै सरकार आएको अनुभुति भएको बताएका थिए । ‘संघीयतासँगै देश प्रादेशिक संरचनामा गएपछि दाङको देउखुरी पनि राजधानी बनेको थियो, तर राजधानी आउँछ कि आउँदैन भन्ने जनतामा भ्रम थियो,’ अध्यक्ष सुवेदीले भने, ‘तर अहिले जनताको त्यो आशंका हटेको छ । पहिलो पटक देउखुरीको राप्ती उपत्यकामा मन्त्रालय आएको छ ।’
कार्यक्रममा मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले मन्त्रालयको अवस्थाका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।