बाँकेमा बाढी पछिको उद्धार र राहतको तयारी कस्तो छ ? (तथ्यांकमा)
Thursday, July 8th, 2021, 8:00 am
Kalpristha
वीरेन्द्र जैसी-
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यस वर्ष बाढीबाट २५ हजार घरपरिवार प्रभावित हुनसक्ने आकलन गरेको छ । त्यसमध्ये २० हजार आंशिक र ५ हजार घरपरिवार पूणर् प्रभावित हुनसक्ने आकलन गरिएको छ । ५ हजार परिवार स्थायीरूपमा विस्थापित हुनसक्ने आकलन समितिको छ ।
समितिले गरेको विपद् नक्सांकन अनुसार यसवर्ष सबैभन्दा बढी डुडुवा गाउँपालिका प्रभावित हुने छ भने सबैभन्दा कम जानकी गाउँपालिका प्रभावित हुने आकलन छ । डडुवा गाउँपालिकामा तीन हजार ६ सय ८२ घरधुरी प्रभावित हुन सक्नेछन् भने जानकीमा तीन सय २६ घरपरिवार प्रभावित हुन सक्नेछन् । यस्तै राप्तिसोनारीमा तीन हजार दुई सय ७९, कोहलपुर नगरपालिमा दुई हजार ३४, बैजनाथ गाउँपालिकामा एक हजार पाँच सय ४०, खजुरा गाउँपालिकामा एक हजार चार सय ९५, नेपालगन्ज उप-महानगरपालिकामा पाँच सय १०, नरैनापुर गाउँपालिकामा तीन सय ९१ घरधुरी प्रभावित हुन सक्नेछन् ।
बाँकेमा यसवर्ष कुन–कुन बस्ती छन् बाढीको जोखिममा ?
उद्धार र राहत सामग्री :
बाँकेमा ७ वटा निकाय एवं संघ संस्थामा विपद् उद्धार सामाग्रीहरु राख्ने भण्डारण कक्ष छन् । गृह मन्त्रालय र विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपालगन्ज विमानस्थलमा मानविय सहायता कक्ष राछ । जहाँ विपद् उद्धार सामाग्रीहरु र गोदाम व्यवस्थापन गरिएको छ । मानविय सहायता कक्षमा गृह मन्त्रालय, केयर नेपाल र एक्शन एड नेपाल लगायतका संघसस्थाहरुले राहत सामाग्री भण्डारण गरेर राखेका छन् । जहाँ विभिन्न किसिमका २२ हजार सात सय ६९ थान सामग्रीहरु राखिएको छ । यस्तै, नेपालगन्ज बाँके वगियास्थित नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाँकेको भण्डारण कक्षमा एक सय सेट गैह्र खाद्य सामग्री छ भने नेपाल खाद्य संस्थान नेपालगन्जमा तीन सय ५० मेट्रिक टन खाद्यान्न, साल्ट ट्रेडिङमा ३० हजार मेट्रिक टन नुन मौज्दात छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गंगापुरमा एक सय गैह्र खाद्य सामग्री मौज्दात छ ।


१९ वटा हेलिप्याड तयारी अवस्थामा
जिल्लामा ८ वटै स्थानीय तहमा १९ वटा हेलिप्याडहरु तयारी अवस्थामा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पाँच-पाँच, डुडुवामा तीन, नेपालगन्जमा दुई र अन्य स्थानीय तहमा एक-एक वटा हेलिप्याड रहेका छन् । यसैगरी जिल्लामा १२ वटा रबरबोटहरु तयारी अवस्थामा छन् ।


२ हजार पाँच सय जनशक्ति उद्धारमा खटिने
बाँकेमा बाढी पीडितको उद्धारमा दुई हजार पाँच सय ५० जना जनशक्ति परिचालन हुनसक्ने जनाइएको छ । तर, तालिमप्राप्त जनशक्ति भने चार सय ५३ जनामात्रै छन् । नेपाली सेनाका एक सय १५ जना जनशक्ति तालिमप्राप्त छन् । यस्तै नेपाल प्रहरीसँग १५ जना, सशस्त्र पहरीसँग ५० जना र नेपाल रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके यूनेस्को क्लब, आइएनएफ आदि संस्थासँग दुई सय ७३ जना तालिम प्राप्त जनशक्ति मौजुद छन् । यसबाहेक नेपाली सेनाका एक हजार जना, नेपाल प्रहरीका सात सय जना, सशस्त्र प्रहरीका आठ सय जना र रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके यूनेस्को क्लब, आइएनएफ आदि संस्थाका ५० जना जनशक्ति उद्धारमा खटिन सक्ने अवस्था रहेको विपद् व्यवस्थापन समितिले तयार गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख छ ।