नेपालगन्जवासीको साझा फेसबुक ग्रुप ‘नेपालगन्ज ग्यालरी’
Sunday, July 11th, 2021, 9:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ असार
नेपालगन्जमा सर्वाधिक लोकप्रियता कमाएको फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीको १२ वर्ष पूरा भएको उपलक्ष्यमा वृक्षारोपण गरिएको छ । बागेश्वरी मन्दिर पूर्वको पार्कमा पतंजली योग समिति बाँकेद्वारा सञ्चालित जडीबुटी उद्यानमा १२ प्रकारका जडिबुटीका बिरुवाहरु रोपेर १२ ओैँ वर्षगाँठ मनाइएको हो । १२ वर्षमा पुग्दा ग्रुपमा १ लाख २९ हजार सदस्य जोडिइसकेका छन् ।
नेपालगन्जका लोकप्रिय रेडियोकर्मी समिरमान श्रेष्ठले सुरु गरेको फेसबुक पब्लिक ग्रुप अहिले नेपालगन्जवासीहरुको साझा फेसबुक प्लेटफर्म बनेको छ । गु्रपमा सदस्यहरुले नेपालगन्जसँग सम्बन्धित सूचना र जानकारीहरु पोष्ट गर्न पाउँछन् । कतिपय सुचनाहरु सन्चारमाध्यमहरुमा आउनुभन्दा पहिले नै ग्यालरीमा प्रकाशित भइसकेका हुन्छन् । त्यस्ता सूचनाहरुमा तथ्यलाई पनि उत्तिकै ध्यान दिने गरिएको समिर बताउँछन् । अवान्छित पोष्टहरुलाई ग्रुपमा पोस्ट गर्न रोक लगाइने गरिन्छ । एडमिनले छनौट गरेर उपयुक्त लागेका पोस्टहरुमात्रै उक्त ग्रुपमा प्रकाशन गर्ने गरिन्छ । ग्रुपका सदस्यहरुले आफ्ना व्यक्तिगत गुनासा र समस्यादेखि समाजिक विषयमा ग्रुपमा पोष्टहरु प्रकाशन हुन्छन् । पोष्टहरु छनौट गर्ने काम एड्मिन समिर र महेश श्रेष्ठले गर्ने गरेका छन् । ‘यसबाहेक पाँच छ जना अरु साथिहरुले पनि पोष्टहरु छनौट गर्ने काममा सहयोग गर्ने गर्दछन्,’ समिरले भने ।
ग्रुपकै माध्यमबाट समय समयमा सामाजिक कामहरु गर्ने गरिन्छ । *२०७६ सालमा बारा र पर्सामा हावाहुरीले क्षति गरेका बखत ग्रुपका सदस्यहरु राहत लिएर पुगेका थिए । पेजमा अनुरोध गरेरै सयौँले अतिआवश्यक भएको बेला रक्तदाताहरुसमेत पाएका छन् । नेपालगन्जका अस्पतालहरुमा समस्यामा परेका कयौँ बिरामीहरुले पनि ग्रुपकै माध्यमबाट सहयोग प्राप्त गरेका छन् । यसबाहेक नेपालगन्जमा सरसफाई अभियान, कान्जि हाउस व्यवस्थापन लगायतका अभियानमा पनि ग्रुपले सक्रियता देखाएको थियो । फेसबुकलाई गम्भिरतापूर्वक नलिने समयमा ग्रुपले यसको प्रभावकारितालाई पुष्टि गरेपछि नेपालगन्जवासीहरुको साझा फेसबुक ग्रुपका रुपमा लोकप्रियता कमाएको समिरको बुझाइ छ ।