एमालेका दुई समूहबिच १० बुँदे सहमति
Sunday, July 11th, 2021, 11:53 pm
Kalpristha
कालपृष्ठ डेस्क, २७ असार
सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १०बुँदे सहमति भएको छ । यो सहमतिलाई भोलि बोलाइएको स्थायी कमिटीको बैठक अनुमोदन गर्ने नेताहरुले बताएका छन् । तर, उक्त सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले भने असहमति जनाएका छन् । अदालतलाई असर पार्ने गरी सहमतिको प्रचार गरेको भन्दै उनले असहमति जनाएका हुन् । दुवै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निणर्य अनुसार अगाडि बढ्ने सहमति गरेको छ । संसद विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेकपा एमालेका २३ सहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यो मुद्दामा सुनुवाई सकिएको छ र, सम्भवतः भोलि फैसला आउनेछ । त्यसको अघिल्लो दिन एमालेमा सहमति भएको छ । ओली पक्षले हस्ताक्षर फिर्ता लिन माग गर्दै आएको भएपनि कार्यदलले पार्टी एकताको भावनाअनुसार संस्थागत निणर्य गर्ने बताएको छ । कार्यदलले जेठ २ मा फर्किने सहमति गरेको छ । तर पार्टी एकता गर्दा थपिएका केन्द्रीय सदस्यहरु र माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई पनि जिम्मेवारी दिइने भएको छ । सबै तहका कमिटी, निकाय र जनसंगठन, नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेकपा गठन हुनुपूर्व २०७६ साल जेठ २ गतेको संगठनात्मक अवस्थाबाट क्रियाशील हुने कार्यदलको सहमति छ ।
