‘लालटिनको उज्यालोमा’मा विषयगत विविधता
Saturday, July 17th, 2021, 11:30 am
Kalpristha
-लेक प्रसाद प्याकुरेल
विषय प्रवेश
नेपाली साहित्यका विभिन्न विधाहरुमध्ये पछिल्लो समयमा अलि बढी कलम चलाइने विधाका रुपमा देखिएको विधा आत्मकथा हो । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली वृहत् शब्दकोशले आत्मकथालाई आफ्ना सम्बन्धमा आफैले लेखेको वा भनेको कथा, आफैंले बनाएको आफ्नै वृतान्त, आफ्नै जीवन चरित्र वा आत्मचरित्र भनेर अथ्र्याएको छ । आत्मकथामा आत्मसँग जोडेर कथा शब्दलाई जुराइएता पनि यसमा विषयगत व्यापकताका दृष्टिले औपन्यासिक सिर्जनाका सामिप्यतामा रहेर आफूले भोगेको वा अनुभव गरेको विषयलाई कलात्मक पाराले प्रस्तुतीकरण गरिन्छ । आत्मकथालाई कथात्मक ढङ्गबाट प्रस्तुत गरिएको एकप्रकारको आत्मजीवनीका रुपमा पनि बुझ्न सकिन्छ । जहाँ आफ्ना जीवनका भोगाइहरु स्वयं आफैंले भन्ने गरिन्छ । भनिन्छ, कुनै पनि मानिसलाई सबैभन्दा नजिकबाट यदि कसैले चिन्छ भने त्यो स्वयं उसैले मात्र चिन्छ । यही मूलमन्त्रलाई आत्मसात गर्ने आत्मकथा यथार्थपरक रोचक तथा साहित्यिक कसीमा खरो भएर उत्रने भएकाले पनि वर्तमानका परिपे्रक्ष्यमा यो विधा बढी बठनीय बन्न पुगेको हो ।
आत्मकथाका माध्यमबाट कथाको स्वाद मात्र पाइने नभएर जीवनी र दैनिकी जस्ता विधाहरुलाई आवश्यकता बमोजिम मिसाएर सामान्य आख्यानात्मकतालाई समेत निम्तो दिने भएकाले पनि आत्मकथा थप रोचक हुने गर्दछ । यसबाट साहित्यिक आस्वादन त प्राप्त हुन्छ नै प्रेरणादायी व्यक्तिहरुका प्रेरक कार्यकलाप हरुले सतमार्गमा लाग्न र सबैका लागि प्रेरणादायी कार्य गर्न आव्हान गरिरहेको हुन्छ । यस्तै आत्मकथा विधालाई जीवन्त बनाउन प्रकाशित भएका विभिन्न आत्मकथात्मक कोसेलीहरुको सेरोफेरोमा रहेर स्रष्टा सरस्वती ज्ञवालीद्वारा रचित पहिलो कृति लालटिनको उज्यालोमालाई मूल्याङ्कन गर्दा यो कृति परिवर्तनमा होमिएका परिवर्तनशील नारीहरूको कथा व्यथालाई प्रेरक ढंगबाट प्रस्तुतीकरण गरिएको उत्कृष्ट कृति भएकाले यस कृतिभित्र देखिएको विषयगत विविधतालाई केलाएर चर्चा परिचर्चा गरिनु बढी सान्दर्भिक हुन्छ ।
कृतिभित्र प्राप्त हुने विषयगत विविधता
सरस्वती ज्ञवालीद्वारा रचित लालटिनको उज्यालोमा २४४ पृष्ठमा समेटिएको मध्यमकायामा संरचित आत्मकथात्मक कृति हो । विसं २०७४ फागुनमा पहिलोपटक १५ सय प्रति प्रकाशित भएको यस कृति १० महिना भित्रै अर्थात् २०७५ पौष महिनामा आइपुग्दा ६३०० प्रति सहित चौथो संस्करण प्रकाशनमा आइसकेको छ । यस व्यहोरालेसमेत गरिमामय साबित भएको लालटिनको उज्यालोमा कृति विषयगत विविधताका दृष्टिले समेत महत्वपूणर् ठहर्छ । यस कृतिमा शिक्षा, राजनीति, घरव्यवहार, ममता, बालविवाह, पित पत्रकारिता, भ्रमण, आन्दोलन, जागिर, मानवीय स्वार्थ, निडर संघर्षशील र स्वाभिमानी प्रवृत्ति, राजनीतिज्ञहरु प्रतिको असन्तुष्टि जस्ता विषयगत विविधताहरु छन् । कृतिभित्र २०१ पृष्ठमा ‘गर्भैसित जोडेर वर्षको उमेरमा उहाँको विवाह भएछ…., सामाजिक कुसंस्कारका बलियो र कसिलो दाम्लाले बाधिएकी मेरी आमा’ भन्दै कुसंस्कार र कुसंस्कृतिको उठान र त्यसको विरोध एवं पृष्ठ २०६ मा ‘के धर्मले पनि नारी पुरुषलाई भेदभाव गर्छ ? कतै ईश्वर छ भने उसको लागि ऋषिमुनि देखि भुसुनासम्म एकै हैन र?’ भन्दै नारी-पुरुष समानताका प्रसंगहरु समेत विषयवस्तु बनेर आएका छन् । त्यसैगरी पृष्ठ २४४ मा ‘अरुले गरेका पौरखबाट धनी भएको देशमा पुगेर त्यसको सम्पन्नतामा हामी आफूलाई सभ्य र सन्तुष्ट भन्ठान्छौं’ भन्दै डायस्पोरामा रहेका नेपालीहरुप्रति अभिव्यक्त भएको चिन्तालाई समेत विषयवस्तुका रूपमा ग्रहण गरिएको छ ।
महान दार्शनिक अथवा समाजपरक समालोचनाका प्रणेता हिपोलाइट टेनको हरेक साहित्यकारका साहित्यिक कोसेलीहरुमा जाति पर्यावरण क्षणले गहिरो प्रभाव पारेको हुन्छ भन्ने अभिव्यक्तिको सामिप्यतामा रहेर लालटिनको उज्यालोमा कृतिको मूल्यांकन गर्दा कृतिकार ज्ञवालीले राजनैतिक पर्यावरणमा आफ्ना विगत व्यतित गरेका कारण कृतिमा समेटिएका धेरै आत्मकथाहरु राजनैतिक विषय वस्तुको मियोमा घुम्नु स्वाभाविक मानिन्छ । त्यसैगरी कृतिभित्रको पहिलो मैले लाल्टिन बालें शीर्षकीकरण गरिएको रचनामा कृतिकारले शैक्षिक विकृति विसंगति, मान्छेको खुट्टा तान्ने प्रवृत्ति, विद्यालय व्यवस्थापन समितिको गैर जिम्मेवारीपनका कारण देखिएको शिक्षा क्षेत्रको अस्तव्यस्तता र उक्त अस्तव्यस्ततालाई व्यवस्थित गर्न छेडिएको लालटिन आन्दोलन विषयवस्तुको तहबाट निकै महत्वपूणर् छ । यसका साथै यो सिर्जना कृतिको नामकरणलाई सार्थक तुल्याउँदै स्रष्टाको समाज परिवर्तनको चाहना अभिव्यक्त गर्ने कोणबाट पनि निकै प्रशंसनीय देखिन्छ । यति हुँदाहुँदै पनि यो पहिलो रचना शैलीगत एकतामा भने केही चुकेको देखिन्छ । जम्मा ७ पृष्ठमा समेटिएर २८ वटा अनुच्छेदमा बाँधिएको यो पहिलो रचनामा २५ वटा अनुच्छेदहरुले वणर्नात्मक शैली अपनाएका छन् भने तीनवटा अनुच्छेदहरु एकाएक पत्रात्मक शैलीमा सम्बोधनात्मक ढङ्गबाट प्रस्तुत भएका छन् । यसर्थ पनि यस्ता रचनाहरूमा शैलीगत एकरुपता अपनाउन सके कृति थप पठनीय बन्ने कुरामा कुनै दुई मत देखिदैन ।
विषयवस्तुका दृष्टिले विशेष चर्चनीय रहेको अर्को रचना हो, पृष्ठ १९१ को ‘लाखौंमा एक मेरी सासू हो ।’ यस साहित्यिक कोसेलीमा शीर्षकको तहबाट नै पूर्वसंस्मरणात्मक विषयको संकेत गर्दै प्रत्येक अनुच्छेद र हरफहरुमा अंग्रेजी साहित्यमा महत्वपूणर् मानिने नोस्टाल्जिक शैली (nostalgic style) वा पूर्वदीप्ति शैलीलाई आमन्त्रण गरिएको छ । यसो गर्दा कहीँकतै विषयवस्तु खजमजिनुको साटो कुतूहलताले तानिरहेको परिस्थिति सिर्जना भएका कारण पनि यो सिर्जना विशेष महत्वपूणर् कृति बन्न पुगेको छ । यही रचनामा कथाकार इन्द्रबहादुर राईले विशेष महत्व दिने गरेको विधा विधा मिश्रण सिद्धान्तलाई समेत आत्मसात गरिएको छ । खासगरी आत्मकथा विधाभित्र रहेर पृष्ठ १९९ मा कविताको स्वादलाई समेत आस्वाद्य विषयवस्तु बनाएर प्रस्तुत गरेका कारण पनि यो रचना विधा मिश्रणको उत्कृष्ट उदाहरण बन्न पुगेको छ । विधा मिश्रणको यही क्रम पृष्ठ १५४, १९६ र १९७ मा पनि निरन्तर रुपमा देख्न सकिन्छ । यही ‘लाखौंमा एक मेरी सासू’ शीर्षकको आत्मकथामा कतिपय विचारहरु समेत अत्यन्त वणर्न योग्य भएर आएका छन् । खासगरी ममता र भावुकताले जन्माएकी कवयित्री सरस्वती ज्ञवालीलाई भेट्न पाइने यो रचनामा ‘आज आमाहरूको महानताको मूल्य भुलिदैछ ……..जब कसैले आमाको महत्व बुझ्ने बेलामा पुग्छ तब आमा पाउँदैन, आमाको जिउँदैमा आत्मा नरुवाउने हो भने त्यही काफी हुन्छ । मरेपछिको श्राद्धले केही हुँदैन,’ भन्ने विचार आमाको श्रद्धाभाव व्यक्त गर्नेहरूका लागि विशेष महत्व राख्ने पंक्ति बनेका छन् ।
त्यसैगरी पृष्ठ २०७ मा रहेको आत्मकथाभित्र परेको विषयवस्तुमा ‘पत्रकारको कलम मा हजारौ बन्दुकबाट निस्कने गोली भन्दा महत्वपूणर् हुन्छ……… हतियार भन्दा कलमको शक्ति जति शक्तिशाली हुन्छ । त्यतिनै मर्यादित हुन्छ पत्रकारिता पेसा,’ भन्दा होस् अथवा पृष्ठ ५६ मा ‘करोडौ ताराहरूको के महत्व हुन्छ र एउटै जूनको पो आकाशमा उज्यालो छर्ने गरी महत्व हुन्छ…… अरब त के खरब जोडे पनि आर्यघाटमा सबैले ओड्ने कात्रो त जम्मा ६ फुटकै हो, गनाएर बाँच्नुभन्दा मजदुर भएर आधा पेट खाएर बाँच्न बेस ठान्छु म,’ भन्दा समेत स्रष्टाका खारिएका विचारहरुले कृतिमा प्रयुक्त विषयवस्तुलाई अझ बढी पठनीय बनाएका छन् ।
माथि उल्लेख गरिएका विषयवस्तु र विचारले खारिएको यस कृतिभित्रका केही रचनाहरूमा भने सामान्य सुधार गर्नुपर्ने विषयवस्तुहरु देखिन्छन् । यस्ता विषयवस्तुहरुलाई सुधार्दै जान सकेको खण्डमा कृति थप गरिमामय बन्ने कुरामा कुनै दुई मत छैन । यही सिलसिलामा कृतिको पृष्ठ ८४ को तेस्रो अनुच्छेदमा स्रष्टा अलिबढी भावुक भएर ‘आदरणीय पाठकहरू मलाई त्यस्तो बेला कस्तो अनुभूति भयो होला यदि मेरो ठाउँमा तपाईहरुको भएको भए के सोच्नु हुन्थ्यो होला,’ भन्ने विचार आएको छ । उक्त विचार कृतिमा पाठक प्रतिक्रियाको सिद्धान्तभन्दा विपरीत भएर आएको देखिन्छ । खासगरी रोला वार्थले ‘कुनैपनि कृति लेखिसकेपछि लेखकको मृत्यु हुन्छ । त्यसलाई पाठकले जस्तो ग्रहण गर्छ त्यस्तै ग्रहण गर्न पाउँछ,’ भन्ने मान्यतामा आधारित Death of author को सिद्धान्तअनुसार स्रष्टाले पाठकलाई कारुणिक बन्न घच्घच्याउनुको साटो स्वतन्त्र भएर सोच्ने वातावरण तय गरिदिएको भए अझ बढी उपयुक्त हुन्थ्यो । त्यसैगरी पृष्ठ १९० को अन्तिम दुई हरफले प्रसंगगत एकरूपता र दरिलो निष्कर्ष निर्माणमा केही बाधा उत्पन्न गरेका कारण उक्त दुई हरफलाई झिकी दिंदा वा कतै प्रसङ्ग अनुकुल बनाएर मात्रै राखिदिँदा रचना धेरै प्रभावकारी हुन्छ । पृष्ठ १०१ लगायतका केही स्थानमा पुराना केही विषय र विचारहरु दोहोर्याएर यो कुरा मैले माथि पनि भनिसकेको छु जस्ता वाक्यांश भेटिन्छन् । जसलाई कृतिमा नदोहोर्याउँदा अझ बढी उपयुक्त हुन्छ ।
यिनै सुधारात्मक सामान्य विषय र प्रसंगका अतिरिक्त कृति निकै पठनीय बनेको छ । पाल्पा, गुल्मी, बुटवल, काठमाडौं, अस्ट्रेलिया जस्ता स्थानलाई आत्मसात गर्दै देशको राजनीति र भूकम्पको विनाश जस्ता परिस्थितिलाई समेटेको यो कृति परिवेशगत व्यापकताको कोणबाट पनि महत्वपूणर् छ । एकातिर कृतिकारको विषयवस्तुलाई भाषामा गालेर शब्दसँग खेल्न सक्ने खुबी एवं वणर्नात्मक शैली र अर्कोतिर स्रष्टाकी छोरी क्षितिज, सासुआमा, ठूलीआमा र श्रीमान् प्रदीप ज्ञवालीका जीवनका भोगाईहरुमा पाइएका विषय सन्दर्भलाई हेर्दा यसै कृतिलाई पृष्ठभूमि बनाएर कृतिकारले पूरै चारवटा औपन्यासिक कृति सिर्जना गर्ने सक्ने क्षमता देखिन्छ । यसर्थ कृतिकार सरस्वती ज्ञवालीको एतातिरसमेत ध्यान आकृष्ट होस् र पाठकहरूले छिट्टै कुनै न कुनै औपन्यासिक कृति पढ्न पाउन् । कृतिकारको सफल साहित्यिक यात्राको गोरेटो अझ प्रशस्त बनोस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।