लघुकथा : गुरुदेव
Saturday, July 17th, 2021, 2:25 pm
Kalpristha
–छविलाल खड्का
तिलचाम्ले कपाल, ललाटमा चन्दनको टीका र पहेंलो बस्त्रधारी सर्वेश्वरनाथ उपाध्याय, याने कि गुरुदेव । वेद, गीता, रामायण, उपनिषद्, महाभारत आदिका धुरुन्धर विद्वान् । वैदिक सभ्यता, आर्य र अनआर्य सभ्यताका प्रखर वक्ता । धर्म, संस्कृति र परम्पराका संरक्षक ।
चौबाटोको पिपलबोटमुनि बसेर अरुलाई अर्ति र उपदेश दिने उनको दिनचर्या । आफ्ना केही शिष्यहरुका अगाडि पाप र धर्मका बारेमा प्रवचन दिईरहेका थिए, गुरुदेव । अचानक गुरुदेवको प्रवचन रोकियो । शिष्यहरुको पनि ध्यान भङ्ग भयो ।
जिङ्ग्रिगै परेको कपाल, मयलका सात पत्र, खालि खुट्टा, भ्वाङै भ्वाङ परेको वस्त्र जहाँबाट उसको शिलता तोडिन्थ्यो । उसको गरिबी प्रष्ट झल्किन्थ्यो ।
‘राम ! राम !! राम !!! हे भगवान ! यी आँखाले के पाप देख्न पर्यो ? सभ्यताको कलङ्क ! अश्लिलताको पराकाष्ठा ! मानव सभ्यताको खिल्ली ! समाज भँडुवा ! घोर कलि ! सत्यनास भयो ।’ गुरुदेवले आँखा चिम्लिंदै बर्बराए ।
ऊ अर्ध पागल थियो । उसलाई अरुको केही मतलब थिएन । ऊ गयो ।
केही समयको मौनतालाई चिर्दै एक शिष्य बोल्यो, ‘गुरुदेव ! वातावरणमा केही सहजता आयो ।’
उनले बिस्तारै आँखा खोले । पाप र धर्मको प्रवचन पुनः दोहर्याउँदै थिए । अर्को दृश्य देखे ।
अर्ध नग्न नारी दृश्य झुल्कियो । ‘हाय ! साक्षात् देवीको दर्शन् । हे भगवान पुण्य गर्यौ । यो साधुको आत्मा तृप्त भयो,’ गुरुदेव बर्बराए । एकहोरो हेरेका हेर्यै भए । सो नारी आकृति आफ्नै पदचापमा अघि बढ्यो । अलि अगाडि पुग्दा सायद पयरमा केही समस्या आयो । निहुरेर हेर्दा उनले नारी शिलताको प्रतीक र नारी सौन्दर्यताको अनुपम दृश्य अनुभव गरेर टोलाई रहे ।
–कोहलपुर
९८४८१४६६२६