कसले रोक्यो भेरीलाई मेडिकल कलेज बनाउन ?
Wednesday, July 28th, 2021, 8:36 am
Kalpristha
मंगलबार भेरी अस्पतालको वार्षिकोत्सव समारोहमा बोल्ने अधिकांश वक्ताहरुले पनि भेरी अस्पतालाई मेडिकल कलेजमा रुपान्तरण गरिनुपर्ने आवाज उठाए । उनीहरुमध्ये अधिकांशले राजनीतिक खिचातानी, अनिच्छा र मन्त्रालयका कर्मचारीहरुका कारण योजना सफल हुन नसकेको बताए ।
वीरेन्द्र जैसी
नेपालगन्ज, १२ साउन
२०६४ सालमा भेरी अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट बनेका डा. श्याम सुन्दर यादव त्यतिबेला आफूले अस्पताललाई मेडिकल कलेज घोषणा गरिनुपर्ने माग उठाएको बताउँछन् । यादवको प्रयासपछि तत्कालिन प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ नेपालगन्ज आउँदा भेरी अस्पताललाई मेडिकल कलेज बनाउने प्रस्ताव उनीसामू राखियो । प्रचण्डले त्यसलाई कार्यान्वयन गर्ने आश्वासन दिए । तर, उनको आश्वासन आश्वासनमै सिमित भयो ।
त्यसपछि तत्कालिन शिक्षामन्त्री गिरीराजमणी पोखरेलको पालामा भेरी अस्पताललाई मेडिकल कलेज बनाउनेगरी छुट्टिन लागेको बजेट पाटन अस्पताललाई दिइएको डा. यादव बताउँछन् । ‘भेरी अस्पतालमा मापदण्ड नपुगेको बाहनामा यहाँको बजेट पाटन अस्पताललाई दिइयो,’ डा. यादवले भने ।
त्यसपछि शिक्षामन्त्री दिननाथ शर्माले पनि भेरी अस्पतालको टिमसँग भेट गरी मेडिकल कलेजको योजनामा सहमति जनाए । तर, उनले तत्कालिन विपक्षि दल नेपाली कांग्रेसको पनि सहमति खोजे । भेरी अस्पतालको टिमले तत्कालिन कांग्रेस सभापति स्वर्गीय सुशिल कोइरालालाई भेट्यो । कोइरालाले पनि उक्त योजनामा आफूले सहयोग गर्ने बताए । ‘सबै कुरा मिलेको जस्तो देखियो । तर अन्तिममा आएर परीणाम शून्य,’ यादवले दुःखेसो पोखे ।
त्यसपछि स्वर्गीय डा. अरुण कोइरालाको संयोजकत्वमा बाँकेका सबै राजनीतिक दलका प्रतिनिधि र पत्रकारसहितको टोली स्वास्थ्य मन्त्रालय पुग्यो । त्यतिबेला शक्ती बस्नेत स्वास्थ्य मन्त्री थिए । मन्त्री बस्नेतले सबैका सामू मेडिकल कलेजको योजनामा सहमति जनाए । तत्कालिन भेरी अस्पताल विकास समितिका अध्यक्ष वेदप्रकाश आचार्य भन्छन्, ‘त्यतिबेला त हामीलाई लागेको थियो अब अस्पताल मेडिकल कलेजमा रुपान्तरण हुने पक्का भयो । अब कन्फर्म भयो भनेर चियापान गरेका थियौँ । तर बिचैमा के-के चलखेल भयो । मेडिकल कलेजको योजना यहाँ आउन नदिनलाई पैसाको चलखेल समेत भयो ।’
लुम्बिनी प्रदेश सभा सदस्य एवं माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपि खरेल पनि योजना असफल बनाउन अनेक चलखेल भएको बताउँछन् । उनी भन्छन्, ‘उक्त योजनामा दुईतिरबाट धमिरा लागे । एउटा निजि तिरबाट र अर्को सरकारी तिरबाट लाग्यो । अहिले नाम नलिउँ । केही व्यक्तीहरु रातारात लागेर योजना असफल पारे ।’
मंगलबार भेरी अस्पतालको वार्षिकोत्सव समारोहमा बोल्ने अधिकांश वक्ताहरुले पनि भेरी अस्पतालाई मेडिकल कलेजमा रुपान्तरण गरिनुपर्ने आवाज उठाए । उनीहरुमध्ये अधिकांशले राजनीतिक खिचातानी, अनिच्छा र मन्त्रालयका कर्मचारीहरुका कारण योजना सफल हुन नसकेको बताए । प्रदेश सभा सदस्य खरेल मेडकल कलेजको आवश्यकता र संभावना बढ्दै गएकोले पर्यत्न छोड्न नहुने बताउँछन् । राजनितिकरुपमा सबै दलहरुले साझा एजेण्डा बनाउनुपर्ने खरेलको भनाइ छ । वार्षिकोत्सवमा उपस्थित नेपाल सरकारको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलको ध्यानाकर्षण गराउँदै खरेलले राजनीतिक रुपले हुने निणर्यलाई मन्त्रालयका कर्मचारीहरुले पनि कार्यान्वयन गर्नुपर्ने बताए ।
मेडिकल कलेज बनाउन मापदण्ड पुग्छ त ?
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ मा मेडिकल कलेको आशयपत्र प्राप्तिका लागि कम्तिमा तीन सय शैया हुनपुर्ने उल्लेख छ । हाल अस्पतालमा एक सय ५० शैया क्षमता छ । यसबाहेक कोभिडका लागि भनेर एक सय ४२ बेड थपिएका छन् । यसैगरी दुई सय ७० बेड क्षमताको अर्को भवन पनि निर्माणको अन्तिम चरणमा छ । सरकारले पाँच सय बेडयुक्त विशेषज्ञ सेवासहितको अस्पताल बनाउने निणर्य गरिसकेको छ । यसबाहेक चिकित्सा शिक्षा आयोगले आवश्यक अन्य मापदण्डको अवस्था हेरी मेकिडल कलेजको अनुमति दिन सक्ने व्यवस्था छ । मुख्य गरी मेडिकल कलेजका लागि बिरामीको चापले भूमिका खेल्छ । विद्यार्थीले अभ्यास गर्नका लागि पर्याप्त बिरामीहरु हुनुपर्ने हुन्छ । भेरी अस्पतालमा वार्षिक एक लाख बढी बिरामीहरु आउने गरेका छन् ।
अस्पतालमा हाल करिब साढे ८ बिघा जग्गा छ । अस्पतालसँगै जोडिएको कारागार पनि स्थानान्तरण भएमा उक्त जग्गा पनि अस्पताललाई उपलब्ध गराउन सकिने सम्बद्धहरु बताउँछन् ।
अस्पताल लुम्बिनी, कर्णाली र सुदुुरपश्चिम प्रदेशको रेफरल सेन्टरको रुपमा रहेको छ । यसबाहेक तुलनात्मक रुपमा बुटवल भन्दा पश्चिम क्षेत्रमा सरकारी मेडिकल कलेजहरु दाङ र जुम्लाबाहेक अन्यत्र छैनन् । कैलालीको गेटामा कलेज निर्माणाधिन छ । यस हिसाबले पनि नेपालगन्जमा मेडिकल कलेज स्थापनाको औचित्य रहेको सम्बद्धहरु बताउँछन् । भेरीलाई मेडिकल कलेज बनाउन मापदण्ड भन्दापनि राजनीतिक इच्छाशक्ती आवश्यक रहेको उनीहरुको भनाइ छ । भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ भन्छन्, ‘मेडिकल कलेजका लागि आवश्यक मापदण्ड भन्दापनि अहिलेको आवश्यकता राजनीतिक इच्छाशक्ती हो ।’ अस्पतालका पुर्व मेसु डा. यादव भन्छन्, ‘यहाँका राजनीतिक दलहरुको इच्छाशक्ती र लबिङ दुवै बलियो हुनुपर्यो ।’
राजनीतिक दलहरुको प्राथमिकतामा पर्छ?
भेरी अस्पताललाई मेडिकल कलेज बनाउने मुद्धालाई राजनीतिक दलहरुले कत्तिको प्राथमिकतामा राखेका छन् त ? कालपृष्ठले बाँकेका प्रमुख राजनीतिक दलका नेताहरुलाई यो जिज्ञासा राखेको थियो भने अस्पतालको वार्षिकोत्सव समारोहमा व्यक्त विचारलाई पनि समावेश गरिएको छ ।

किरण कोइराला, सभापति, नेपाली कांग्रेस, बाँके
भेरी अस्पतालको विकास नेपाली कांग्रेसको पहिलेदेखकै प्राथमिकता हो । भेरी अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गरियो भने यस क्षेत्रकै जनतालाई फइदा पुग्छ । मेडिकल कलेजको मुद्धा पहिला पनि उठेको हो । बिचमा सेलाएको थियो । हाम्रो आगमी चुनावी ऐजेण्डा पनि यो विषय बन्छ । यहाँ एउटा निजि क्षेत्रको मेडिकल कलेज छँदै छ । तैपनि सरकारी प्रतिष्ठानको रुपमा भेरी अस्पताललाई मेडिकल कलेज बनाउन कुनै आपत्ति हुँदैन भन्ने मलाई लाग्छ ।

सूर्य ढकाल, अध्यक्ष, नेकपा एमाले, बाँके
भेरी अस्पतालका लागि अहिलेसम्म सबैभन्दा बढी बजेट हाम्रै पार्टी नेतृत्वको सरकारको पालामा आएको छ । यो तथ्य हो । आगामी दिनमा पनि अस्पतालको विकासका निम्ति गर्नुपर्ने सबै सकारात्मक काममा हाम्रो पार्टी अग्रपंक्तिमा रहन्छ । अस्पताललाई मेडिकल कलेज बनाइनुपर्ने आवज फेरि उठेको छ । यसमा हाम्रो पार्टीको पूर्ण समर्थन रहन्छ । यसको राजनीतिक लबिङका लागि हामी तयार छौँ ।
आइपि खरेल, अध्यक्ष, माओवादी केन्द्र, बाँके, लुम्बिनी प्रदेश सभा सदस्य
यसभन्दा अघि पनि अस्पताललाई मेडिकल कलेज बनाउन मिहिनत भएकै हो । तर, उक्त योजनामा दुईतिरबाट धमिरा लागे । एउटा निजि तिरबाट र अर्को सरकारी तिरबाट लाग्यो । अहिले नाम नलिउँ । केही व्यक्तीहरु रातारात लागेर योजना असफल पारे । अहिले पनि मेडकल कलेजको आवश्यकता र संभावना बढ्दै गएको छ । हामीले पर्यत्न छोड्नु हुँदैन । राजनितिकरुपमा सबै दलहरुले साझा एजेण्डा बनाउनुपर्छ । राजनीतिक रुपले हुने निणर्यलाई मन्त्रालयका कर्मचारीहरुले पनि कार्यान्वयन गर्नुपर्छ । अनिमात्रै यस योजनाले परिणाम प्राप्त गर्छ ।

कमरुद्धिन राई, अध्यक्ष, जनता समाजवादी पार्टी, बाँके
भेरी अस्पतालका लागि हामीले जति कसैले चासो दिएन होला । जगजाहेर नै छ हाम्रो पार्टीले भेरी हस्पिटललाई कति प्राथमिकता दिएको छ भनेर । अबको हाम्रो प्रतिबद्धता अस्पताललाई मेडिकल कलेज बनाउनेतिर नै केन्द्रित छ । आगामी निर्वाचनमा हामी त्यही प्रतिबद्धता जनतासामू लिएर जान्छौँ । यसपछि हाम्रो भागमा स्वास्थ्य र शिक्षा मन्त्रालय आउँछ भने मेडिकल कलेज घोषणा गर्ने पर्यत्न गर्छौँ ।

नरेन्द्र पौडेल, अध्यक्ष,राष्ट्रिय प्रजातन्त्र पार्टी, बाँके
यसअघि पनि हाम्रो भनाई यही थियो । बुटवल देखि पश्चिमतिर मेडिकल कलेज छैन हामी हेर्न सक्छौँ । यो माग एकदमै जाहेज छ । हिजो राजनीतिक शक्तिहरुको ध्यान त्यता पर्याप्त नगएको हुनसक्छ । अब भने भेरी अस्पताललाई मेडिकल कलेज अनिवार्य बनाउनुपर्छ । आगामी निर्वाचनमा हाम्रो यो एउटा एजेण्डा रहन्छ । यसको माग उठेपपनि पहल सशक्त नभएको हो । अब त्यसलाई सुधार गर्नुपर्छ ।

डा. धवलशमशेर राणा, मेयर, नेपालगन्ज उप-महानगरपालिका
धेरै पहिलेदेखि कुरो आइरहेको छ, हाम्रो क्षेत्रमा सरकारी मेडिकल कलेज बनाउनु पर्यो भनेर । अबको लक्ष्य भनेकै मेडिकल कलेज हो । एक सय ३१ वर्ष भइसक्यो । यस अस्पतालको विकासमा फड्को मार्नु छ भने अब मेडिकल कलेज नै बनाउने हो । जग्गाको समस्या भयो भने छेउमै कारागार छ । कारागार अब केही वर्षमै स्थानान्तरण हुन्छ । त्यसपछि उक्त जग्गा पनि उपयोग गर्न सकिन्छ । मात्रै सबै राजनितिक दलहरुले एकजुट भएर यस योजनालाई सफल पार्नु आवश्यक छ । हामी त्यसमा पहल गर्छौँ ।