दुई अधिकृत घुस सहित नियन्त्रणमा
Saturday, April 29th, 2023, 8:33 pm
Kalpristha
सौरभ राना
काठमाडौं, १६ वैशाख
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङगेलले १ लाख ५० हजार घुस लिएको आरोप लागेको छ । उनलाई घुस वापतको उक्त रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिदैं विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।
खाद्य अनुसन्धान अधिकृत योगेन्द्रले सेवाग्राहीसँग अनुज्ञापत्रको लागि १ लाख ५० हजार घुस मागेको सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा योगेन्द्रले सेवाग्राहीसँग घुस वापतको रकम लिएकोले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा(१) को देहाय (घ) अनुसार १ लाख ५० हजार रुपैयाँ विगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा(१) को (घ) बमोजिम कैद र विगो वमोजिम जरिवाना हुन मागदावी लिई आरोपत्र दायर गरिएको प्रवक्ता भोला दाहालले बताए ।
यसैगरी उद्योग विभाग औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापा घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ । कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको सुचनाका आधारमा शाखा अधिकृत कुमारी र कार्यालय सहयोगी दिपालाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
उनीहरुले सेवाग्राहीसँग १२ हजार रुपैयाँ घस लिइसकेको अवस्थामा स्रोत नखुलेको ३७ हजार ५ सय रुपैयाँ सहित शाखा अधिकृतको कार्यकक्षबाट गत बिहिबार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।