सामाजिक न्याय विना शान्ति हुँदैन भन्ने नाराका साथ मनाईयो श्रमिक दिवस
Monday, May 1st, 2023, 9:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ वैशाख
नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङले अहिलेको आर्थिक संकटबाट देशलाई उकास्ने जिम्मेवारी कांग्रेसमा आइपुगेको बताएका छन् । देशमा आर्थिक संकट छ भन्दै जनता आत्तिरहेका बेला देशलाई आर्थिक समृद्धि तर्फ लग्नको लागि आफुलाई जिम्मेवारी दिए पुरा गर्ने बताए । नेपालको आर्थिक विकासको निम्ति हामीले आन्तरिक सम्भावनाहरुलाई पहिचान गर्दै त्यसलाई सदुपयोग गर्नु पर्नेमा गुरुङले जोड दिए ।
उनले भने,‘हामी वनमा धनी छौं । तर काठ बिदेशबाट खरिद गरेर प्रयोग गछौं । काठ जंगलमा कुहिरहेका छन् । वनजंगलको संरक्षण गर्दै त्यसको उचित प्रयोग गर्न पर्छ । सुन खानी, युरेनियम खानी छन हामीसँग । पानी खेर गैरहेको छ । यसलाई उदार अर्थनिति मार्फत हामीले प्रयोग गर्न सक्नु पर्छ । तर अन्धो राष्ट्रवादका नाममा त्यसलाई चलाउन हुन भन्छौं ।’ देशलाई आर्थिक संकटबाट उकास्नको लागि उच्च तहमा पुगेका नेता र कर्मचारीको व्यक्तिगत सम्पक्ति छानविन गर्नु पर्ने गुरुङले धारणा राखे । उनले थपे, ‘नेतृत्व गर्ने मानिस इमानदार हुन्छ । राजनिति गर्ने मानिसको व्यक्तिगत लाभ लिइरहेको छ भने त्यसको सम्पक्ति छानविन गर्नु प¥यो । अनि मात्र देशमा सुशासन कायम हुन्छ ।’
नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरले नेपाली कांग्रेसको उदारवादी अर्थ नितिका कारण देशमा परिवर्तन भएको भन्दै त्यसलाई जनताका माझ बुझाउन जरुरी रहेको बताए । उनले भने,‘कांग्रेसले केहि गरेन भन्छन, तर अहिले जे परिवर्तन भएको छ त्यो कांग्रेसको पालामा भएको छ । कांग्रेसको नेतृत्व भएको छ । पछिल्लो समय कांग्रेस भन्दा कम्युनिष्टले देशमा शासन गरे । के विकास गरे त ।’ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् अर्थविद्ध डा. गोविन्द पोखरेलले श्रमिकहरुको उचित सम्मान र व्यवस्थापन गर्न सकेमात्र देशले आर्थिक सफलता हासिल गर्न सक्ने बताए । उनले भने, ‘देश विकासको मेरुदण्ड भनेको श्रम हो । श्रम गर्ने श्रमिक बिना कुनै पनि देशले प्रगति गर्न सक्दैन । समय सापेक्ष श्रमिकको क्षमता अभिवृद्धि गर्दै श्रमको सम्मान गर्ने वातावरणको सृजना गर्नु पर्छ ।’
डा. पोखरेलले राज्यले विदेशमा भएका युवाहरु, घरमै बसेर लाखौंको कारोबार र रोजगारी सृजना गरिरहेका श्रमिकहरुको पहिचान गर्दै उनीहरुलाई सम्बोधन गर्दै देश विकासको अभियानमा जोडनु पर्ने धारणा राखे ।
‘सामाजिक न्याय विना शान्ति हुँदैन’ भन्ने नाराका साथ १ सय ३४ औ अन्तराष्ट्रिय श्रमिक दिवस बाँकेमा पनि मनाइएको छ । नेपाल टे«ड युनियन कांग्रेस बाँकेले मे १ अर्थात श्रमिक दिवसको अवसर पारेर जिल्ला अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल टे«ड युनियन कांग्रेस बाँके अध्यक्ष रामबहादुर मल्लको अध्यक्षतामा भएको सातौ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा मजदुरहरुको हक, हित र अधिकारको लागि काम गर्दै आएको टे«ड युनियनको क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल टे«ड युनियन कांग्रेस बाँकेका पुर्व अध्यक्षहरु जोगेन्द्र सिंह राठौर, शिव प्रसाद पाण्डे, जगविर नेपाली, विरेन्द्र शाह, राजु थापालाई सम्मान गरिएको थिये ।
टे«ड युनियनको सदस्य हुँदै पार्टीको उच्च पदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस बाँकेका उप–सभापति गोपाल प्रसाद अधिकारी, सह–सचिव रेणु सिंह ठाकुर र कोषाध्यक्ष यज्ञ बस्नेतलाई नेपाली कांग्रेसका उप–सभापति गुरुङ, सह–महामन्त्री किशोर सिंह राठौर लगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा आर्थिक सहयोग गर्ने सन्जय सिंह, डा. सुरेश कनोडिया, दिपक खडका, खिलराज उप्रेती पनि सम्मानित भएको नेपाल टे«ड युनियन कांग्रेस बाँकेका नवनिर्वाचित खुला उपाध्यक्ष तोजिन्द्र विकले बताए ।