किशोरीलाई पाठेघरको क्यान्सर विरुद्ध खोप लगाईने
Sunday, September 10th, 2023, 7:58 pm
Kalpristha
रजनी योगी
नेपालगन्ज, २४ भदौं
नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्ये पहिलो नम्बरमा रहेको पाठेघरको क्यान्सर विरुद्धको खोप लगाउने कार्य नेपालगन्जमा आगामी बुधबार देखी सुरु हुने भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा लगाइने खोप भदौं ३० गतेसम्म चल्नेछ । लुम्बिनी प्रदेशको प्रतिनिधीत्व गर्दै बाँकेको भेरी अस्पतालमा यो खोप संचालन हुन लागेको हो ।
खोपले ९५ प्रतिशत क्यान्सर न्युनिकरणमा सहयोग पुग्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत संजय कुमार महासेठले जानकारी दिए । १४ वर्ष पुरा १५ वर्ष ननाघेका किशोरीलाई उक्त खाप दिईने छ । देशभर २० हजार किशोरी र लुम्बिनी प्रदेशमा मात्रै १ हजार २ सय १५ जनालाई सुरुआती चरणमा खोप दिईने छ ।
विशेषगरी ३५ देखि ६४ वर्षका महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम देखिएको छ । १० देखि १४ वर्षका किशोरीलाई खोप दिन मिल्ने भएपनि अहिलेलाई १४ वर्ष पुरा भएका किशोरिलाई मात्रै खोप दिईने छ । २०६५ भाद्र ३० गतेदेखि २०६६ भाद्र ३० गतेभित्र जन्मेका लुम्बिनी प्रदेशका किशोरी खोप दिईने पनि बरिष्ठ जनस्वास्थ्य अधिकृत महासेठले आइतबार भएको अन्तरक्रियामा बताए ।
पाठेघरको मुखको क्यान्सर हुनुमा ह्युमन पालिलोमा भाइरस प्रमुख कारण मानिएको छ । सन् २०३० सम्म १५ वर्षमूनीका बालिकाहरुमध्ये ९० प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप पूर्ण रुपमा प्रदान गरिनेछ ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरीले महिलाहरुको लागि पाठेघरको मुखको क्यान्सर निकै जोखिमपूर्ण भएकाले यो खोपले क्यान्सर न्युनीकरणमा सहयोग गर्ने अपेक्षा गरिएको बताए ।
खोप अति आवश्यक भएपनि खोप अभाव भएकाले यस्को मात्रा बढाउन सकेको भए प्रभावकारी हुने उनको सुझाव छ । यसैगरी जिल्ला समन्वय समिती बाँकेका उपाध्यक्ष सिता कार्कीले खोपको मात्रा थोरै भएपनि हामिले खोप लगाउन पाउनुमा आफुलाई भाग्यमानी ठानेको बताईन् । खोप थोरै हुनुमा विरोध गर्नु भन्दा पनि समर्थन गर्नुपर्नेमा उनको जोड छ ।
यस्तै, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवन रायमाझीले अहिले यो खोप १ सय ३० राष्ट्रले सुरु गरिसकेको बताउँदै खोप सिमित भएपनि केही व्यक्तिले पाउने र बाँकीले आगामी आर्थिक वर्षमा प्राप्त गर्ने उनले जानकारी दिए ।
स्वाथ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको आयोजनामा पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एच पि भि खोप अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराईएको हो । कार्यक्रममा विभिन्न पालिकाका प्रतिनिधी, स्वास्थ्य शाखा प्रमुखहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्तिथी थियो ।