नयाँ वर्ष २०८१ लाई स्वागत
Saturday, April 13th, 2024, 5:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० चैत
हामीलाई विश्वास छ कि नयाँ वर्ष तपाईँका लागि एउटा सुखद आश्चर्य लिएर आउनेछ । तपाईँले जीवनमा जे चाहनुभएको त्यो तपाईँलाई प्राप्त होस् । नयाँ वर्ष विक्रम संवत् २०८१ आजदेखि हाम्रा सामु उपस्थित भएको छ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस् ‘कालपृष्ठ दैनिक’ सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छ ।
बितेको वर्ष जे भयो भयो, नराम्रोले सिकाएर गयो । जे भयो राम्रो त्यसले सजाएर गएको ठान्नुपर्छ । अबको वर्ष शुभ हुन्छ । प्रगति हुन्छ । अनि स्वस्थे, सुखद र कल्याणकारी हुन्छ, हामीले उत्साही विश्वास राख्नुपर्छ । आराध्य देव, राष्ट्रदेव महादेव झैँ ‘समय’ पनि शून्य अनि निराकार, अन्त्यहीन अनि बलवान पनि । समय रोक्न, नियन्त्रण गर्न मानिसको बसको सवाल होइन ।
तथापि मानिसहरू निरन्तर साहस गरिरहन्छन्, समयलाई आफ्नो प्रकारले गणना गरिरहन्छन् । हात या भित्तामा भएको घडी अनि क्यालेन्डरहरूले यस्ता समयको मापन गर्ने गर्छन्, दिन, घडी, पला, नक्षत्र, पक्ष, मास अनि वर्षहरू फेरिरहन्छन् । सँगै धर्तीमा अनुहार फेरिरहन्छन्, अनि फेरिन्छ, मानिसहरूका पेरिफेरी पनि ।
फूलेका आँप, लिची, दाना बसेका नासपतीका हाँगाहरू, बोट–बिरुवामा भर्खरैका चिल्ला पातहरूले वसन्त आगमनको सूचक स्वरूप कुहु–कुहु गरेका सुन्दर कोइलीका सुमधुर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझैँ लाग्छ । गत वर्षको तीता–मीठा यादहरूलाई याद मात्रै बनाउँदै भित्ताका क्यालेन्डरहरू पुराना भए ।
संसारभरिका मानिसहरूले विभिन्न प्रकारका आ–आफ्नै तरिकाले र आ–आफ्नै समयमा नयाँ वर्ष मनाउने चलनमा ल्याएका छन् । तर विक्रम संवत् भने एउटा पुरानो अनि ऐतिहासिक संवतको रूपमा विशेषतः पूर्वीय दर्शन अनि पौराणिक वैदिक सनातन संस्कारमा व्याख्या गरिएको छ । विक्रम संवत् अङ्ग्रेजी संवत् अर्थात् एडी भन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ ।
यसबाटै प्रमाणित हुन्छ यसको महत्त्व अनि मानव सभ्यतामा वैदिक सनातन हिन्दु धर्मको प्रभाव र उमेर । विक्रम संवत् समग्र तिथि मितिहरू पृथ्वी र चन्द्र बिचको कोण अनि अवस्थितिमा फरक पर्छन्, सायद त्यसैले पनि यसलाई चन्द्र मास भनिएको हुनपर्छ ।