ई–रिक्सा चालक परिचय पत्र वितरण सुरु
Tuesday, April 16th, 2024, 6:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, वैशाख ४ गते
नेपालगन्जमा प्रमुख समस्याको रुपमा देखिएको ई–रिक्सा व्यवस्थापनलाई चुस्त बनाउन नेपालगन्ज उप–महानगरपालिकाले नयाँ कामको सुरुआत गरेको छ । मंगलबारदेखि नेपालगन्ज उपमहानगरपालिकाले ई रिक्सा चालकहरुलाई सवारी चालक परिचयपत्र वितरण सुरु गरेको छ ।
चालक परिचय पत्रसँगै ई रिक्सा चालकलाई विभिन्न किसिमका सुविधा र प्राविधिक बारेमा पनि अभिमुखिकरण गर्ने कार्यको सुरुआत गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले मंगलबार सुरुआतमा १ सय १७ जनालाई चालक परिचयपत्र र ज्याकेट वितरण गर्नु भयो ।
नेपालगन्जमा ई–रिक्सा व्यवस्थापन गर्नको लागि नेपालगन्ज उप–महानगरपालिकाले पछिल्लो समय ई रिक्सा चालकहरुलाई परिचयपत्र, विमा र अभिमुखिकरण जस्ता कार्यक्रम गर्दै आएको छ । यस थप प्रभावकारी गराउन उप–महानगरपालिकाले बजेट बिनियोजन गर्ने नगर प्रमुख विष्टले बताउनु भयो ।
नेपालगन्जमा नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिले व्यवस्थापनमा ई– रिक्सा व्यवस्थापनको काम गरिरहेको छ ।
नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टले ई–रिक्सा चालकहरुको सुरक्षाको लागि परिचयपत्र सहित स्वास्थ्य विमा योजना अगाडी बढाईरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपालगन्जमा ई– रिक्साहरुको व्यवस्थापन गर्न जरुरी छ । ई–रिक्सा निम्न वर्गको जनताको आर्थिक आम्दानी गर्ने माध्यम बनेको छ । यातायातलाई सहज पनि बनाएको छ । तर यसको सही रुपमा व्यवस्थापन नहुँदा थुप्रै समस्या सृजना भएका छन् । यसलाई सुधार गर्ने हामी प्रयास गरिरहेका छौं ।’
ई–रिक्सा चालकहरुले पनि नेपालको कानुन र ट्राफिक नियमहरुको बारेमा जानकारी भएर सवारी साधन चलाउनमा ध्यान दिनु पर्ने प्रमुख विष्टले बताउनु भयो । उहाँले भन्नु भयो, ‘ई– रिक्सा चालकहरुले नेपालको कानुन अनुसार सुरक्षित भएर काम गर्ने वातावरण पाउनु पर्छ । उहाँहरुको पेसाको सुरक्षाको लागि, यात्रीहरुको सुरक्षाको लागि हामीले कार्यविधि बनाएर काम गरिरहेका छौं । यसमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’
नेपालगन्ज उप–महानगरपालिकाले वितरण गरेको चालक अनुमतिपत्रले नेपालगन्जमा ई रिक्सा व्यवस्थापनमा सहयोग पुग्ने प्रमुख विष्टले बताउनु भयो ।
नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमार सिंह ठकुरीले ई–रिक्सा चालकहरुलाई विज्ञहरुबाट ट्राफिक नियम तथा बिमाहरुको बारेमा अभिमुखिकरण गराउँदैं चालक परिचय पत्र वितरण गरिने बताउनु भयो ।
मंगलबार नेपालगन्ज उप–महानगरपालिकामा भएको कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्र्चाज वरिष्ट सई प्रविण आर्चायले ई– रिक्सा चालकहरुलाई ट्राफिक नियमहरुको बारेमा जानकारी गराउनु भएको थियो । ट्राफिक नियमको बारेमा जानकारी नहुँदा नेपालगन्जमा ई–रिक्सा दुर्घटनाको संख्या बढिरहेको बताउनु भयो ।