प्रस्तावित पन्नालाल चोकमा युनियनको दिप प्रज्ज्वलन
Tuesday, January 28th, 2025, 8:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ माघ
नेपाल प्रेस युनियन बाँकेले नेपाल प्रेस युनियनका संस्थापक प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्त ‘चाचा’को पाँचौं स्मृति दिवस दिवसमा प्रस्तावित पन्नालाल चोकमा दिप प्रज्ज्वलन गरेको छ ।
रानीतलाउ नजिकै रहेको उक्त चोकलाई पन्नालाल चोक नामाकरणमा दवाव दिन युनियनले दिप प्रज्ज्वलन गरेको युनियनका जिल्ला अध्यक्ष प्रियास्मृति ढकालले बताउनुभयो । दिप प्रज्ज्वलन कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने–‘चाचा जी बाँकेका पत्रकारहरुका लागि प्रेरक व्यक्तित्व हुनुहुन्छ ।
त्रिभुवन चोकदेखि पूर्वको सडकलाई पन्नालाल मार्ग र चोकलाई पन्नालाल चोक नामाकरण गर्नका लागि युनियनले निरन्तर दवाव दिँदै आएको छ । पत्रकार महासंघले समेत यसमा अगुवाइ गर्न आवश्यक छ । त्यो अगुवाइ गरोस् ।’ नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारीले पनि पन्नालाल मार्ग र चोक नामाकरणका लागि पार्टीले सहयोग गर्ने बताउनुभयो ।
मुलुकको परिवर्तनका निमित्त चाचा जीले कलमका माध्यमबाट महत्वपूर्ण योगदान दिएको उनको भनाइ छ । उहाँले अहिलेका पत्रकारहरुले चाचा जीको पत्रकारितालाई अनुशरण गर्न पनि आवश्यक रहेकोमा उहाँले जोड थियो । पन्नालाल गुप्त स्मृति प्रतिष्ठानका अध्यक्ष विजय गुप्ताले पत्रकारिताका क्षेत्रमा चाचा जीले पु¥याएको योगदान महत्वपूर्ण भएकाले उहाँको सम्मानका लागि पनि मार्ग र चोक नामकरण गर्नुपर्ने बताउनुभयो ।
दिप प्रज्ज्वलन कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव तथा पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइँ, प्रेस युनियन लुम्विनी प्रदेश सदस्य गौरव गिरी, युनियनका पूर्व केन्द्रीय सदस्य उमा थापा, युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन वली लगायतको उपस्थिति रहेको युनियनका सचिव भिष्म लोधले बताउनुभयो ।