‘जनताको घर–घरमा पुगेर कांग्रेसले मत माग्नुपर्छ’ : उम्मेदवार गौडेल
Saturday, January 24th, 2026, 9:21 pm
Kalpristha
नेपालगन्ज, माघ १०
प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाँकेका कांग्रेस उम्मेदवार नारायणप्रसाद गौडेलले आफुहरुको मालिक नै जनता भएकाले प्रत्येक जनताको घर–घरमा पुगेर कांग्रेस कार्यकर्ताले आफ्ना उम्मेदवारका लागि मत माग्नुपर्ने बताउनु भएको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्व तयारीका सन्र्दभमा निर्वाचन प्रचार–प्रसार समितिले शनिबार आयोजना गरेको जिल्ला स्तरिय बृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला सभापति समेत रहेका उम्मेदवार गौडेलले भन्नुभयो, ‘हामीले जनताको घर–घरमा पुगेर मत माग्नुपर्छ, आर्शिवाद माग्नुपर्छ, हामी नेपाली कांग्रेसका टोलदेखी क्षेत्र सम्मका तमाम साथीहरु तीन वटै निर्वाचन क्षेत्रमा अहोरात्र खटिएर नेपाली कांग्रेसलाई विजयी गराउनेछौं ।’
चुनावका लागि टिकट ल्याउन पार्टीभित्र एउटा निश्चित अवधिमा आन्तरिक प्रतिस्पर्धा भएपनि पार्टीले निर्णय गरेर उम्मेदवार बनाईसकेको अवस्थामा अब एक ढिक्का भएर सबै कांग्रेसलाई जिताउन लाग्नुपर्ने गौडेलले बताउनुभयो । ‘आज हामीहरु उम्मेदवार छौं, अर्को पटक अरु साथीहरुको पालो आउँछ, सबै कार्यकर्ताको भावनालाई कदर गरेर तीन वटै क्षेत्रमा कांग्रेसले आफ्ना उम्मेदवार खटाएको छ, सबै साथीहरुले पालो पाउनुहुनेछ,’ उहाँले भन्नुभयो ।
२०७९ सालको स्थानीय तहमा पार्टीभित्र सबै एक ढिक्का भएर बाँकेका स्थानीय तहहरुमा आफ्ना उम्मेदवारलाई विजयी गराउन सफल भएको स्मरण गराउँदै उम्मेदवार गौडेलले यसपटक पनि सबै नेता तथा कार्यकर्ताहरु एक ढिक्का हुन जरुरी रहेको बताउनुभयो । उम्मेदवारका विषयमा टिका–टिप्पणी गर्नु भन्दा पनि पार्टीको मार्ग दर्शन र आदेश अनुसार चुनावमा अगाडी बढ्नुपर्ने उहाँको भनाई छ ।