अनलाईन ‘बेटिङ’ को अदृश्य खेलले कमजोर बन्दैं नेपाली फुटबल
Thursday, May 7th, 2026, 7:21 pm
Kalpristha
गजे थापा
नेपालगन्ज, २४ वैशाख
नेपाली फुटबलमा म्याच फिक्सिङको त्यत्ति ठूलो प्रभाव नदेखिए पनि सटृे बजारको नकारात्मक अभ्यास बढ्दै गएको देखिन्छ । अवैध लगानी अब नेपाली मोफसलका फुटबल प्रतियोगिताहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देखिन थालेको छ । यस्तो अभ्यासले नेपाली फुटबलले गति लिन सक्दैन, बरु फुटबलको मर्म र भावनामाथि नै चोट पुरयाउने प्रयास गर्नेछ । बेटिङको सबैभन्दा नकारात्मक पक्ष भनेको खेल फिक्सिङ गर्नु हो ।
अर्थात खेल हुनुअघि नै खेलको नतीजा सुनिश्चित गर्नु हो । खेलको स्कोर र हार जीतको नजीतामाथि प्रभाव राख्न क्लब र खेलाडीहरुको संलग्नता मुख्य जोखिमहरु हुन् । यसले खेलाडीले मैदानमा प्रदर्शन गर्ने मेहनत, क्षमता र प्रतिमालाई नै पूर्णविराम लगाई दिनसक्ने जस्तो नकारात्मक अभ्यास बढ्ने चुनौतीहरु देखिन सक्छन् ।
अहिले मोफसलका प्रतियोगिताहरुमा बेटिङ साइटको उच्च प्रयोगले फुटबलमा अवैध गतिविधि बढ्दै गइरहेको आकांक्षा बढ्न थालेको छ । यसले मिहिनेत गर्ने खेलाडी र क्लबहरुको लगानी डुब्ने जोखिम बढ्दै गएको छ । अनलाइन मिडियाको नाममा देखापरेका बेटिङ साइटले नेपाली फुटबल, दर्शक र समग्र फुटबल चलायमान हुनुको साटो निष्क्रीय बन्दै गइरहेको छ ।
एकातिर फुटबलमा सरकारी दमनको आवाज उठ्न थालेको छ भने अर्कोतिर फुटबलमा संदिग्ध गतिविधिहरु देखिन थालेपछि फुटबलको क्रेज मैदानमा देखिन छाडेका छन् । आज भोलि खेलाडीले दर्शकलाई खेल हेर्न अनुरोध गर्नुपर्ने बेला आएको छ । नेपालको फुटबल मैदानमा खेलाडीहरु दौडिरहेका छन् । तर मैदानबाहिर अर्को खेल मौन रुपमा चलिरहेको छ–अनलाइन बेटिङ नेटवर्क, अवैध सटृेबाजी र शंकास्पट डिजिटल गतिविधिको खेल ।
सतहमा यो केवल मनोरञ्जन वा सटृेबाजी बजर जस्तो देखिन्छ । तर भित्रभित्रै, मोफसलका फुटबल प्रतियोगिताहरुमा यसको प्रभाव गहिरिँदै गएको संकेतहरु देखिन थालेका छन् । प्रश्न यो होइन कि फिक्सिङ भएको छ कि छैन–प्रश्न यो हो कि, यसको लागि संरचना कति संवेदनशील बनिसकेको छ ?
अदृश्य नेटवर्क : कसले खेल नियन्त्रण गर्दैछ ?
पछिल्लो वर्षहरुमा अनलाइन मिडिया र बेटिङ साइटहरुको सहकार्यमा संचालन हुने गतिविधिहरु उल्लेखनीय रुपमा बढेका छन् । प्रतियोगिता शुरु हुनुअघि नै “प्रमोशन” को नाममा देखिने यस्ता प्लेटफर्महरु वास्तवमा खेलभन्दा बाहिरको आर्थिक चासोमा केन्द्रित रहेको आरोप बारम्बार उठ्दै आएको छ ।
तर प्रश्न उठ्छ–यी नेटवर्कहरु यति सहज रुपमा प्रतियोगितासम्म कसरी पुगिरहेका छन् ? र किन आयोजकहरु नै यी संरचनासँग अप्रत्यक्ष रुपमा निर्भर देखिन थालेका छन् ?
मोफसल फुटबल: लोकप्रियता होइन, संवेदनशीलता बढ्दै
पहिले दर्शकको भीडले भरिने गोल्डकपहरु अहिले खाली कुर्सीहरुको प्रतीक बन्दै गएका छन् । हालै बाँकेको खजुरा गाउँपालिका सम्पन्न प्रथम खजुरा गोल्डकप र कोहलपुरस्थित १३ बिघा खेलमैदानमा संचालित चौथो कोहलपुर गोल्डकप प्रतियोगिताहरुमा दर्शक आकर्षित गर्न प्रवेश निःशुल्क गर्नुपर्ने अवस्था आउनु केवल आर्थिक समस्या होइन–यो खेलप्रतिको विश्वास घट्दै गएको संकेत हो । जब मैदानमा दर्शक घट्छन्, मैदान बाहिरको प्रभाव बढ्छ । र यही खालीपनमा अवैध नेटवर्कहरुको पहुँच विस्तार हुने गर्छ ।
फिक्सिङको खतरा: प्रमाणभन्दा ठूलो प्रश्न
नेपाली फुटबलमा ठूला म्याच फिक्सिङ स्क्यान्डलहरु सार्वजनिक रुपमा कम देखिए पनि, स्पट फिक्सिङ र सटृेबाजी–प्रेरित निर्णयहरुको जोखिम बढिरहेको विशेषज्ञहरुको भनाइ छ ।
सबैभन्दा संवेदनशील पक्ष खेलाडी र रेफ्री हुन्–कम पारिश्रमिक, अस्थिर भविष्य र सीमित अवसरका कारण उनीहरु आर्थिक प्रलोभनको उच्च जोखिममा रहन्छन् । यही संरचनात्मक कमजोरी नै फिक्सिङ सम्भावनाको सबैभन्दा ठूलो ढोका हो ।
डिजिटल जाल: अनलाइन बेटिङ मनी लाउन्ड्रिङ
अनलाइन प्लेटफर्ममार्पmत चल्ने अवैध सटृेबाजीले केवल खेलमै असर गरिरहेको छैन, यसले आर्थिक अपराधको अर्को तह पनि खोलिरहेको छ– मनी लाउन्ड्रिङ, अपादर्शीता ट्राजेक्सन र अन्तर्राष्ट्रिय नेटवर्कसँग सम्भावित सम्बन्ध ।
तर नेपालमा प्रश्न अझै उस्तै छ–यो डिजिटल अर्थतन्त्रको अनुगमन कसले गरिहेको छ ?
खेल प्रशासनको मौनता: कमजोरी कि असहयोग ?
खेल संघ, आयोजक र सम्बन्धित निकायहरुको भूमिका पनि प्रश्नको घेरामा छ । नियमन कमजोर छ, निगरानी सीमित छ, र स्पष्ट कानुनी ढाँचा अभैm अपुरो छ । यस्तो अवस्थामा, अवैध नेटवर्कहरु केवल प्रवेश मात्र होइन, विस्तारसमेत गर्न सफल भइरहेका छन् ।
खेलाडीको भविष्य जोखिममा
सबैभन्दा ठूलो क्षति खेलाडीहरुले भोगिरहेका छन् । एकातिर खेल गतिविधि नहुँदा समयमा पारिश्रमिक उपलब्ध नहुनु, अर्कोतिर बाहिरी प्रलोभन–यी दुई बीचको चपेटामा परेर उनीहरुको करियरमाथि जोखिम बढ्दै गएको देखिन्छ । केही वर्षको मेहनत एक गलत निर्णयले समाप्त हुन सक्ने अवस्था बढ्दै गएको छ ।
नेपालमा फुटबल अब केवल खेलमात्र हो कि आर्थिक प्रभाव र अवैध नेटवर्कको संवेदनशील बजार बनिसकेको छ–यो प्रश्न गम्भीर रुपमा उठ्न थालेको छ ।
स्पष्ट कानुन, कडा नियमन र पारदर्शी खेल प्रशासन बिना नेपाली फुटबलको भविष्य सुरक्षित हुने सम्भावना कमजोर हुँदै गएको छ । अब प्रश्न केवल बेटिङ रोक्ने होइन–खेललाई खेलकै रुपमा बचाउने हो । यस तर्फ समयमा सोच्नुपर्ने बेला आएको छ ।